आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बारामा मात्रै ४ महिलाको मृत्यु, शाेकमा डुब्याे जिल्ला

प्रकाशित
0.9K
SHARES

काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताए ।

चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै मौसम पुर्वानुमान महाशाखाले बिहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ

यसैगरी, बिहीबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, बिहीबार राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । र, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया