आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डबीच बैठकमै लफडा, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस् मैले भनेको हो – प्रचण्ड

प्रकाशित
0.9K
SHARES

काठमाडौं । बालुटारमा जारी सत्तारुढ नेकपाको स्थायी बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भनाभन भएको छ। स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको एक नेताले संचारकेन्द्रलाई जानकारी दिए।

ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको प्रचण्डको भनाइ छ । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । ‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए ।

आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको हाे । बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका थिए ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको ती नेताले बताए ।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले के भनेका थिए ? हेर्नुहोस जस्ताको त्यस्तै:

१. तपाई हामी सबैलाई थाहा छ जस्तो लाग्छ । तपाईहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता/पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ । भारतका मिडियाहरु सुन्नुभएको होला । भारतका वौद्धिक बहसहरु सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ ।….

२. हामीले… हाम्रो जमीन फिर्ता ल्याउन खोज्यौं, अरुको जमीनमा दाबी गरेको होइन । अरुको जमीन अतिक्रमण, हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, यहाँँ नेपालकै नेता लाग्या रछन् । बहस चल्या र छ । अहिले होइन, केपी ओलीलाई नहटाई हुँदैन ।….

३. पहिले यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब… भित्र–भित्रको कुरा हो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ । यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।

४. मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन । किनभने, भोलिपल्ट बर्खास्त हुन्छ ।

ओलीको उक्त अभिव्यक्तिपछि यदि प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै हो भने आफूलाई आँटिलो राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री ओलीले भाषण मात्रै ठोकेर दायित्व पूरा हुँदैन । सरकार ढाल्न सक्रिय हुने राजदूतलाई तुरुन्त सिंहदरबारमा बोलाएर स्पष्टीकरण सोध्नुपर्छ र स्पष्टीकरण सोधेर मात्र पुग्दैन । तल्कालै, २४ घण्टाभित्र नेपाल छाड्न आदेश दिनुपर्छ भन्नेसम्मका टिप्पणीहरु सुरु भएका छन्।

उसो त नेकपा सचिवालयबाट टरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट स्थायी कमिटीमा सरेको छ । दुई दिन स्थगित भएर मंगलबारदेखि पुनः शुरु हुने बैठकमा प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको पनि बताइएको छ ।

कार्यसूचीमा रहेको सरकार र पार्टीको कामको समीक्षामा प्रवेश गरेपछि स्थायी कमिटीको बहुमतले ओलीलाई पद त्याग्न दवाब दिने संकेत नेताहरुले गरेका छन् । प्रचण्ड र माधव नेपाल पक्ष मिलेपछि स्थायी कमिटीमा अर्का अध्यक्ष ओली अल्पमतमा छन् ।

नेकपा स्रोतका अनुसार सरकारको कामको समिक्षा हुँदा प्रधानमन्त्रीबाट हट्न र पार्टी कामको समीक्षा हुँदा अध्यक्षबाट हट्न ओलीलाई दबाव दिने तयारी अर्को पक्षको छ ।यसअघि सचिवालय बैठकबाटै ओलीलाई हटाउने प्रयास भएको थियो ।

तर, अन्तिम घडीमा वामदेव गौतमले ओलीलाई साथ दिएका कारण प्रधानमन्त्री हटाउने प्रस्ताव सम्भव भएको थिएन । त्यसबेला दुवै पक्षले संसदीय दलमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षरसमेत संकलन गरिसकेका थिए ।

तर, सचिवालय र संसदीय दलमा दुवै पक्षले बहुमत जुटाउन नसकेकै कारण त्यसबेला ओली हटाउने प्रयास असफल भएको थियो । प्रधानमन्त्री ओलीले त्यो परिघटनालाई ‘पार्टी फुटाउने बहुमतीय खेल’ को संज्ञा दिएका छन् । भने ओलीइत्तर पक्षले हसताक्षर संकलन गरेर प्रधानमन्त्रीले फार्टी फुटाउन खोजेको प्रत्यारोप लगाउँदै आएका छन् ।

अब जारी स्थायी कमिटी बैठकले नेकपाभित्रको अन्तरविरोध कसरी समाधान गर्ला ? अहिले नै अनुमान लगाउन सकिन्न । तर, दुबै समूहका नेताहरुका पछिल्ला अभिव्यक्तिले नेकपा ठूलै संकटमा पुगेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया