आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सलह किराको ठूलो बथान सक्रिय भएपछि ओली सरकारले उठायो यस्तो कदम

प्रकाशित
675
SHARES

काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ । नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

विज्ञहरुसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।

कृषि मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएको छ । गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने मन्त्री भुसालले बताए ।

सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ । अन्तरमन्त्रालय समन्वय गरी सलह नियन्त्रणको बजेट व्यवस्था गर्न मन्त्री भुसालले सचिव भारीलाई निर्देशन दिएका हुन् ।

उता प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।

‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए

प्रतिक्रिया