आज : गते

ताजा शिर्षकहरु

कहिलेसम्म तयार हुँदैछ कोरोनाको भ्याक्सिन ? डब्ल्युएचओले दियो फेरी यस्तो नयाँ जानकारी

प्रकाशित
344
SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने बताएको छ । कोरोनाको भ्याक्सिन तयार पार्न  कयौं देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो ।

विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ । साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ ।

डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ । एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रोगप्रतिरोधात्मक क्षमता विकास गरेका छन् ।

विश्वका कयौं देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ । यस्तो अवस्थामा महामारीका रुपमा फैलिएको कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ ।  विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया