आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

४४ जिल्लामा बाढी, पहिरो र डुबानको खतरा, सूचीसहित

प्रकाशित
1K
SHARES
Monsoon in Nepal

काठमाडौं । मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् ।

स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् । वर्षा नरोकिएपछि समथर भू-भागका बस्तीमा डुबानको खतराले सर्वसाधारण चिन्तित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मुलुकका विभिन्न भू-भागमा ९० मिलिलिटरसम्म वर्षा भएको छ ।

महाशाखाका अनुसार दिपायलमा ११.१, धनगढीमा ८९.९, वीरेन्द्रनगरमा १.१, नेपालगञ्जमा ५.१, घोराहीमा २५.१, पोखरामा ७५.१, भैरहवामा ३१.३, सिमरामा ६.२, काठमाडौंमा ९.२, ओखलढुंगामा १.२, ताप्लेजुङमा ६.७, धनकुटामा ३.९, विराटनगरमा ४९.९, जोमसोममा १.५, धरानमा ९०.४ र जिरीमा १४.५ मिलिलिटर वर्षा भएको छ ।

निरन्तरको वर्षा नरोकिएपछि बाढी पूर्वानुमान महाशाखाले विभिन्न ४४ जिल्ला तथा आसपासको क्षेत्रमा बाढी तथा डुबानको पूर्वानुमान गरेको छ ।

महाशाखाले बिहान ७ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का सबै ८ जिल्ला, सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङमा बाढीको सम्भावना छ ।

यस्तै नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला बहने केही स-साना खोलाहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको छ ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

अझै केही दिन मौसम सक्रिय रहने र भारी वर्षाको सम्भावना रहेको हुँदा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया