आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव, घरभाडा छुट गर्न माग

प्रकाशित
697
SHARES

काठमाडौं । सांसद भीमसेनदास प्रधानले नेपालमा पनि कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएकाले कोरोना नियन्त्रणकै लागि शनिबार र आइतबार बिदा दिन प्रस्ताव माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भीमसेनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरे ।

यस्तै यता, अर्का सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै उनले भने- ‘लकडाउनभरीको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्नुपर्छ ।’

उनले लकडाउन सुरु गरेदेखि अन्तिम दिन सम्मको शून्य समय मानेर यो शून्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गनुपर्नेमा जोड दिए ।

विद्यालयले विद्यार्थीसँग शुल्क नलिऔ। निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षक सरह सरकारले तलब भुक्तानी गरोस्। दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गरोस्। होटल रेष्टुरेण्ट र क्याफेलाई सुलभ ब्याज पुन सञ्चालन कर्जा दिने निर्णय गरोस्, उद्योग सञ्चालन नभएको अवस्थामा आधा तलब उद्योगले दिने निर्णय गरोस् ।’

यस्तै मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बीउको अभावको समस्या समाधान गर्न माग गरे ।

सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गर्ने, ‘मल बीउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?’ सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको बताए । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरे ।

सांसद वृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएकाले तत्काल शैक्षिक गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अस्थायी, राहतलगायत शिक्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग माग गरे ।

सांसद रानी मण्डलले क्वारेन्टिनबाट कोरोना सर्ने अवस्था आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन माग गरे । उनले क्वारेन्टिनहरुको अवलोकन गर्न सरकारलाई आग्रह गरे । सांसद भीमसेनदास प्रधानले सवारी साधनमा भौतिक दूरी कायम गर्न कठिन हुने भएकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन माग गरे ।

सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने क्रम नरोकिएकाले कोरोनाको चुनौती थप बढेको जनाउँदै क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना सुब्बाले मृत्युपछि मात्र कोरोना परीक्षणको रिपोर्ट आएकाले यसको नियन्त्रणमा सरकार चुकेको आरोप लगाए ।

सांसद मनकुमारी जिसीले विदेशमा अलपत्र नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन माग गरे । सांसद महेश्वरराज गहतराजले महिला हिंसा र जातीय विभेदको घटना बढेकामा चिन्ता व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्नका लागि ठोस कदम चाल्न आग्रह गरे ।

सांसद रङ्गमती शाहीले क्वारेन्टिनमा महिला बलात्कृत हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरे । सांसद रामकुमारी चौधरीले बन्दाबन्दी अवधिमा ३७३ बलात्कार, ३४ बहुविवाह र आठ बोक्सीसम्बन्धी घटना भएको जनाउँदै गम्भीर जघन्य आपराधिक घटना नियन्त्रण गर्न माग गए । सांसद लक्ष्मी परियारले रुकुम(पश्चिम) घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरे ।

सांसद भवानी खापुङले पुष्पलाल लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रमा बन्ने पुलको अझै निर्माण हुन नसकेको जनाउँदै ठेकेदारलाई ताकेता गर्न माग गरे । सांसद मीनबहादुर विश्वकर्माले लकडाउनदेखि अन्तिमसम्मको अवधिलाई ‘शून्य’ समय मानी घरधनीले घरभाडा नलिने, बैंकले ब्याज नलिने, विद्यालयले शुल्क नलिने र दैनिक ज्यालादारी श्रमिकलाई मासिक रु सात हजार दिने व्यवस्था गर्न प्रस्ताव गरे ।

सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारले फजुल खर्च नियन्त्रण गर्न नसकेको आरोप लगाए । सांसद मोहन बानियाँले तत्काल नागरिकता विधेयक सदनमा पेश गर्न माग गरे । सांसद रामबहादुर विष्टले भ्रष्टाचार नियन्त्रणमा सरकारले उदासीनता देखाएको आरोप लगाए ।

सांसद यज्ञराज सुनुवारले कामचोर र ठग ठेकेदारका लागि कोरोना बहाना मिलेको जनाउँदै सार्वजनिक खरीद ऐन संशोधन गरेर मुलुकप्रति घात गर्ने ठेकेदारलाई कारागार हाल्ने व्यवस्था मिलाउन माग गरे ।

सांसद रामकुमारी झाँक्रीले साना उद्यमीलाई कोरोनाका कहरबाट जोगाउनका लागि उचित राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए

प्रतिक्रिया