आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीकाबीच राष्ट्रपतिले गरिन संसद भंग भएको घोषणा, के हो खास कारण ?

प्रकाशित
781
SHARES

कोरोना महामारीबीच सिंगापुरको संसद् विघटन भएको छ । मंगलबार सिंगापुरकी राष्ट्रपति हालिमा याकुबले प्रधानमन्त्री ली सेन लूङको सिफारिसमा संसद् विघटन गरेकी हुन् ।

यसअघि मंगलबार प्रधानमन्त्री लूङले संसद्‍मा सम्बोधन गर्दै ताजा जनादेशका लागि आफूले चुनाव गराउन चाहेको बताएका थिए । उनले सम्बोधनका क्रममा संसद् विघटनका लागि राष्ट्रपतिलाई आग्रह गरेको जानकारी पनि गराएका थिए ।

नयाँ चुनावले राष्ट्रिय एजेन्डा र कठिन परिस्थितिको सामना गर्न सक्ने गरी ताजा जनादेश दिने उनले बताएका थिए । वर्तमान संसदको कार्यकाल आउँदो अप्रिलसम्म भए पनि प्रधानमन्त्री लूङले त्यसअघि नै नयाँ चुनाव गराउन लागेका हुन् । सिंगापुरको कानुनअनुसार संसद् विघटन भएको ३ महिनाभित्र अर्को चुनाव सम्पन्न गरिसक्नुपर्छ ।

सिंगापुरको सत्तारुढ पिपल्स एक्सन पार्टी(पीएपी) सन् १९५९ देखि सरकारको नेतृत्वमा छ । उक्त पार्टीले सन् १९६५ मा सिंगापुर स्वतन्त्र हुनुपूर्वदेखि नै त्यहाँको सरकारको नेतृत्व गरिरहेको छ । यसअघि सन् २०१५ मा भएको आम चुनावमा पीएपीले ८९ मध्ये ८३ सिटमा जित हात पारेको थियो ।

यस पटक भने चुनावी क्षेत्र निर्धारण पुनरावलोकन समितिको सिफारिअनुसार संसदीय क्षेत्र बढाउने अपेक्षा गरिएको छ । यस पटक संसदीय चुनावी क्षेत्र ८९ बाट बढाएर ९३ पुऱ्याउने अपेक्षा गरिएको छ ।

सिंगापुरमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो । गत हप्ता मात्रै सिंगापुरले आंशिक रुपमा लकडाउन खुकुलो गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि उचित कदम नचालेको भन्दै सिंगापुर सरकारको कडा आलोचना हुँदै आएको छ ।

मंगलबार दिउँसोसम्म सिंगापुरमा ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । सिंगापुरमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ हजार ५ सय ९० जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा बढी ब्राजिलमा ५४ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न देशहरुले परीक्षणको दायरा बढाएको र केही ठाउँमा व्यापक रुपमा संक्रमण भएकाले संक्रमितको संख्या ह्वात्तै बढेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै विभिन्न देशहरुले लामो समयदेखि कायम रहेको लकडाउनलाई खुकुलो बनाउँदै लगेका छन् । सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख २९ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४४ लाख १९ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ६७ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ७९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा हालसम्म करिब एक लाख २० हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा ६ लाख २२ हजारभन्दा बढी निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा १० लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ब्राजिलमा संक्रमण पुष्टि भएका मध्ये ५० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ लाख ८८ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै रुसमा ५ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । रुसमा कोरोना संक्रमणबाट करिब ८ हजार १ सयको मृत्यु भएको छ भने ३ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै संक्रमणका हिसाबले चौथो स्थानमा रहेको भारतमा अहिलेसम्म ४ लाख १० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजारभन्दा निको भएका छन् ।

प्रतिक्रिया