आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पाल्पा पहिरोमा ज्यान गुमाउने तीनै जनाको सनाखत, नामावलीसहित

प्रकाशित
633
SHARES

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ । पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा चार सवारी साधन बगाएको थियो । सोमबार बेलुका पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई पहिरोले बगाएको थियो ।

त्यस्तै लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् । ती गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको हो ।

पहिरोका कारण बाटो अवरुद्ध भएपछि उपचारका लागि हिँडेका गम्भीर बिरामीलाई समेत समस्या भएको छ । गुल्मी, बाग्लुङ्गबाट उपचारका लागि पाल्पा, बुटवल काठमाण्डौ हिँडेका बिरामी तथा यात्रुहरु दुई दिनदेखि अलपत्र परेका हुन् ।

आइतबार राति परेको पानीले पहिरो खसेर बाटो बन्द भएपछि पाल्पा, बुटवल तथा काठमाण्डौका लागि छुटेका गाडीहरु हार्थोक क्षेत्र तथा गुल्मी र बाग्लुङ्गका लागि हिँडेका गाडीहरु तानसेनको ढुङ्गाखानीमा रोकिएका छन् । तानसेन – रिडी सडकको सम्मोबारी, बिश्वकर्मा मन्दिर क्षेत्रमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।

तत्काल तानसेन छुटेका गाडीहरुलाई उता पठाउन नसकिने, तर गुल्मीबाट पाल्पाको लागि छुटेका ३० भन्दा बढी गाडीलाई पाल्पा ल्याउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उता ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपीङ् बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपीङ् भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् ।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि त्यही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गएकाे माघ १६ गतेदेखि बन्द भएको तातोपानी नाका गएको चैत २६ गते देखि पुनः सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।

प्रतिक्रिया