आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर ४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान

प्रकाशित
1.1K
SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ । मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवनका स-साना खोलाहरूमा पनि वहाब बढ्ने सम्भावना छ ।

यस्तै गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै केहि स्थानमा भने पहिरो जान सुरु गरिसकेको छ । हेटौँडा – कुलेखानी–काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सम्भवतः आज दिउँसोसम्म सडक आवागमन शुरु हुने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उता पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ । संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा क्षेत्रमा पहिरो गएपछि अरुण नदी थुनिएर ताल बनेको हो । आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण तालबनेपछि नदी किनाराको एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथिबाट खसेको पहिरोले अरुण नदी थुनिएर जमेको पानी क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको प्रहरीले जनाएको छ । पहिरोले थुनिएको नदी खुल्न थालेपछि तटीय क्षेत्रको जोमिख टरेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए । आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर नदी थुनिएको थियो।

पहिरोले नदी थुनिएर ताल बनेपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रका बस्तीमा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको थियो।

यत्सै उता गुल्मीको सदरमुकाम नजिकै पहिरो जाँदा ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् । पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् ।

निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती केही वर्ष अगाडिदेखि नै जोखिममा थिए । तर पछिल्लो केही दिन यता लगातारको वर्षाले ती घरका वासिन्दा विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् ।

स्थानीयले केही दिन अघि सडक बिस्तारको क्रममा जोखिमलाई ख्याल गर्न आग्रह गर्दै सडक कार्यालयमा निवेदन पनि दिएका थिए । निर्माणाधीन तम्घास–नेटाको अर्को सडकको नाली सोही स्थानबाटै बग्दै आएकाले पनि थप पहिरो गएको हो।

पहिरोका कारण सडकसमेत भासिएको छ । खानेपानीको पम्पिङ्ग गरिएको स्थानमै पहिरो गएको छ । ठूलै पहिरो गए सयौं घर खानेपानीबाट बन्चित हुने खतरा छ । तम्घासको फोहोर व्यवस्थापन गर्ने स्थान पनि त्यहीँ रहेकाले थप पहिरो गएमा तम्घासको फोहोर मैला व्यवस्थापन गर्नसमेत असहज हुनेछ ।

प्रतिक्रिया