आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल, ३ बजेदेखि लागू

प्रकाशित
642
SHARES

डडेलधुरा । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए। उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।’

सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।

यसैबीच गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् । यस्तै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रतिक्रिया