आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्वारेन्टाइनबाट घर पठाइएका २ जनाको मृत्यु

प्रकाशित
0.9K
SHARES

बर्दिया । दार्चुला र बर्दियामा गरि क्वारेन्टाइनबाट घर पठाइएलगत्तै २ जनकाे मृत्यु भएको छ । क्वारेन्टाइनबाट घर फिर्ता पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उनलाई आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ आएपछि बिहीबार घर पठाइएको थियो ।

घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडी पठाउन सुझाव दिइएको थियो । तर स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

उनका अनुसार रातको समयमा स्वास्थ्य समस्या जटिल भएपछि परिवारका सदस्यले खबर गरेका थिए । गत जेठ २२ गते काठमाडौंबाट घर फर्किएका उनलाई वडा नम्बर–३ खुरखुरे बाल विकास केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेपछि बिहीबार आरडिटी परीक्षण गरिएको थियो ।

स्थानीय स्वास्थ्य चौकी प्रमुख दिल्ली चलाउनेले आरडीटी जाँचपछि घर फर्किएका व्यक्तिले रातिका समयमा श्वास लिन गाह्रो भइरहेको, टाउको र पेट दुखेको परिवारका सदस्यलाई जानकारी गराएको बताए । ‘स्वास्थ्यमा समस्या देखेपछि सिधै एम्बुलेन्समा राखेर बर्दिया अस्पताल पठाउँदा बाटोमै मृत्यु भयो,’ उनले भने । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ ।

उता दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।’

स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै बेंग्लौरबाट आएका साथीको भनाइ उदृत गर्दै धामीले भने, ‘चार/पाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।’

गाउँपालिका अध्यक्ष धामीका अनुसार मृतक युवकको अन्त्येष्टि बिहीबार साँझ नै गरिएको छ । सुरक्षा सजगता अपनाएर मृतक युवकको अन्त्येष्टि गरिएको अध्यक्ष धामीले दाबी गरे । मृतक युवकको अन्त्येष्टिमा परिवारका सदस्यसहित जम्मा सात जना मात्रै सहभागी भएको र अन्त्येष्टिमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न भनएिको अध्यक्ष धामीले बताए ।

प्रतिक्रिया