आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसीबारे प्रधानमन्त्री ओलीको नयां धारणा बाहिरियो

प्रकाशित
673
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् । संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् ।

‘केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको एमसीसीलाई पढेर मात्रै बोल्न प्रधानमन्त्रीको सुझाव थियो ।

‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन? खुट्टाले टेक्न छोडेर टाउकाले र हातले टेकेर हिँड्न भएन । जे प्रबन्ध छ त्यसमा भएको ठिक बेठिक छुट्याएर भने हुन्छ,’ उनले थपे, ‘लहैलहैमा अमेरिकी सेना आउने भयो भनेको छ । कहाँ पढ्छन् ? के पढ्छन् ?’

प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्नुपर्ने सुझाव दिएका थिए । एमसीसीको विरोध गर्नेहरूलाई मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’ एमसीसीबारे नेकपाभित्रै विवाद रहेको छ । एमसीसीले नेपालको सार्वभौमिकता संकटमा पार्ने नेकपाका नेताहरूले बताउँदै आएका छन् । पार्टीभित्रको विवादका कारण उक्त सम्झौतालाई संसदमा छलफलका लागि अगाडि बढेको छैन ।

नेकपाले झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी पारित हुन नहुने प्रतिवेदन बुझाएको थियो । अर्कोतर्फ सरकारले भने एमसीसीमा रहेका परियोजना बजेटमा राखेर संसदबाट पारित गराएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली अफवाहको शिकार भएको पाइएको छ । त्यो हो इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज ।

चैतमा जतिबेला नेपालले भर्खर लकडाउन सुरु गरेको थियो, इटाली कोरोनाबाट आक्रान्त भइसकेको थियो । संक्रमितको संख्या मात्र होइन, मृतकको पनि संख्याको ग्राफ उकालो लागिरहेका बेला सामाजिक सञ्जालमा इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको भन्ने एउटा पोस्ट भाइरल भएको थियो ।

इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोस्टहरूमा भनिएको थियो, ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । सम्भवत: सबै प्रयासहरू सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन ।’ योसँगै भाइरल बनेको थियो, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर ।

बिहीबार राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले त्यही भाइरल पोस्टलाई टेकेर राष्ट्रिय सभामा अभिव्यक्ति दिएका छन् । भारतबाट आएकाहरूको उचित रुपमा क्वारेन्टिन हुन नसकेको भनेर भइरहेको आलोचनाप्रति इङ्गित गर्दै उनले जेठमा मात्र दुई लाख ४४ हजार मानिस आएको र यति ठूलो संख्यामा मानिहरूको क्वारेन्टिन दुनियाँको कुनै देशले गर्न नसक्ने बताए ।

उनले भने, ‘आइसोलेसनमा राख्दा पनि इटालीजस्तो देशले सडकमा लगेर राख्नुपर्‍यो । आईसीयूको सेवा सडकमा दिनुपर्‍यो । भेन्टिलेटरमा बस्नुपर्ने अवस्थामा मात्र ल्याउनू, नभए ठाउँ छैन नल्याउनू । आइसोलेसनमा बस्नू भनेर विकसित देशहरूले घर पठाउनुपर्‍यो । हामीले यस तहमा हात उठाइसकेका छैनौं ।’

‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं’ उनले अघि भने । प्रधानमन्त्रीको संकेत इटाली राष्ट्रपतिको भाइरल तस्वीरहरूतर्फ भएको सहज अनुमान लगाउन सकिन्छ । जबकि दुवै समाचार तथ्यहीन थिए ।

किनकि कोरोनाबाट आक्रान्त इटालीले न सडकबाट आईसीयू सेवा दिएको थियो, न राष्ट्रपतिले हात उठाएका थिए । इटालीको राष्ट्रपतिको भन्दै प्रचार गरिएको पोस्टमा रोइरहेका व्यक्ति ब्राजिलका राष्ट्रपति जैर बोलोनारोको हो । उनले २०१९ डिसेम्बरमा एक प्रार्थना सभालाई सम्बोधन गर्दा यसरी रोएका थिए ।

अनि इटालीले सडकमा आईसीयू सेवा दिएको भनेर प्रचार गरिएको तस्वीर पनि फेक हो । सडकमै आईसीयू सेवा दिएको तस्वीर क्रुएसियाको राजधानी जाग्रेबको हो । मे २०२० मा कोरोना भाइरसका कारण सहरमा अर्धलकडाउन थियो । त्यहीबेला भूकम्प आएपछि अस्पतालहरूले चाप धान्न नसकेर सडकमै उपचार सेवा दिएका थिए । यो कोरोना संक्रमितहरूलाई दिइएको उपचार पनि होइन ।

संसदबाटै भ्रमको प्रचार !

प्रधानमन्त्री ओलीले आफ्नो ५५ वर्षे राजनीतिक जीवनमा बोलेका कुराहरूलाई कसैले चुनौती दिन नसकेको दाबी गरे । तर राष्ट्रिय सभामा बेसारका विषयमा प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर विज्ञहरूले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिन राष्ट्रिय सभामा उपस्थित भएका प्रधानमन्त्रीले आफूलाई सर्वज्ञाता ठान्दै स्वास्थ्य क्षेत्रका विषयमा गरेको टिप्पणीका कारण उनी विवादमा तानिएका हुन् ।

प्रधानमन्त्री ओलीले बेसारको साइड इफेक्टबारे बताउने क्रममा राष्ट्रिय सभामा भने, ‘रक्तअल्पता छ भने बेसार खानुहुँदैन, जण्डिस लागेकाले बेसार खानुहुँदैन । सुत्केरी महिलाले बेसार खानुहुँदैन । आइरनको कमी, ब्लडको कमी छ भने खानुहुँदैन । यस्ता अनेक स्थिति हुन्छन्, जसमा बेसार खानुहुँदैन । अप्रेसन गर्नु अगाडि बेसार खानुहुँदैन ।

तर जण्डिस रोगका विज्ञ डा. सुधांशु केसीले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै टि्वटमार्फत भनेका छन् ‘यसरी गलत सूचना दिनुहुँदैन प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खानुहुन्न भनेर ?’

प्रतिक्रिया