आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनाङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ कोरोना संक्रमित थपिए

प्रकाशित
696
SHARES

पोखरा । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।  ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।

मनाङको चामे गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिए ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन । यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ । गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैबीच पर्वतका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर प्रयोगशाला स्रोतले विहीबार विहान दिएको जानकारी अनुसार कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो ।

प्रतिक्रिया