आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतलाई एकपछि आइलाग्यो अर्को तनाव, मोदी हैरान

प्रकाशित
1.7K
SHARES

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् ।

तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको संख्या छुटेको भन्दै सच्याएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ ।

त्यस्तै भारतमा मंगलबार थप १० हजार ९ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । त्यसमध्ये एक लाख ८४ हजार ९ सय ३४ जना निको भएका छन् । एक लाख ५५ हजार २ सय २७ जना भने उपचारका क्रममा रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा मृतकको संख्या एक हजार ३ सय २८ थपिएका छन् । मंगलबार महाराष्ट्रमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ मात्रै भए पनि पहिले छुटेको संख्या थपिएको अधिकारीहरुले बताएका छन् । योसँगै महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय ३७ पुगेको छ । महाराष्ट्रमा संक्रमितको संख्या एक लाख १३ हजार ४ सय ४५ पुगेको भने करिब ५० हजार कोरोनामुक्त भएका छन् ।

त्यसैगरी दिल्ली सरकारले पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मिलान गरेको छ । दिल्लीमा कोरोना भाइरसबाट मृत्यु भएको तथ्यांकमा ३ सय ४४ जना थपिएका छन् । पहिले मृत्यु भएका तर तथ्यांकमा छुटेको संख्या अद्यावधिक गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भने दिल्लीमा ९३ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार ६ सय ८८ पुगेको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये २६ हजार ३ सयभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि आगामी रणनीति तय गर्न मंगलबार मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न २१ वटा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । कोरोना संक्रमणका हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ ।

उता बेलायती विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुलाई लो डोजको स्टेरोइड ट्रिटमेन्टले धेरै फाइदा पुग्ने दाबी गरेका छन् । ‘डेक्जामेथासोन’ नामक औषधिले कोरोना भाइरसका सिकिस्त बिरामीहरुलाई बचाउने विश्वास लिइएको छ ।

यो औषधिले कुनै पनि भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुने जोखिमलाई एक तिहाईले कम गर्ने तथा अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि १/५ ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको बीबीसीले जनाएको छ । यो औषधि विश्वको ठूलो ट्रायल टेस्टिङ ट्रिटमेन्टको एक हिस्सा हो । जसमा यो औषधि कोभिड विरुद्ध काम गर्छ वा गर्दैन भनेर परीक्षण भइरहेका छन् ।

अध्ययनकर्ताका अनुसार यो औषधि बेलायतमा सुरुवाती चरणमा उपलब्ध भएको भए करिब ५ हजार जनाको जीवन बचाउन सकिन्थ्यो । निकै सस्तो र सर्वसुलभ यो औषधिको प्रयोगले धेरै संक्रमित देखिएका गरिब देशमा निकै राहत पुग्ने उनीहरुको दाबी समेत छ ।

ज्यान जाेगाउने दाबी
‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन् । अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ । यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ ।

यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ । यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो । यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो ।

भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ ।

प्रमुख अनुसन्धानकर्ता प्रा. पिटर हर्बीका अनुसार हालसम्म यही मात्र औषधिले तुलनात्मक रुपमा मृत्यु दर घटाउन सफल रहेको दाबी गरेका छन् । ‘यसले उल्लेख्य रुपमा मृत्युदर घटाउँछ । यो मेजर ब्रेकथ्रु हो,’ उनले भने ।

मुख्य अध्ययनकर्ता प्रा. मार्टिन लान्ड्रेले यो अध्ययनले भेन्टिलेटरमा उपचाररत ८ जना बिरामीमध्ये एकको ज्यान बचाउन सक्ने दाबी गरे । साथै अक्सिजन सपोर्टमा रहेका २० देखि २५ जनामा एकजनालाई बचाउन सकिन्छ ।

प्रा. लान्ड्रे भन्छन्, ‘यसबाट स्पष्ट फाइदा मिल्छ । यो औषधिको उपचार करिब १० दिनसम्म गरिन्छ । यसको मूल्य ५ पाउन्ड रहेको छ । ३५ पाउन्ड जति खर्च भएमा जीवन बच्छ । यो विश्वभर पाइन्छ ।’

उनका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई ढिला नगरिकन यो औषधि दिन थालिहाल्नुपर्छ । ‘स्वासप्रस्वासमा कुनै पनि समस्या नदेखिएका बिरामीले यसको सेवन गर्नु हुँदैन । साथै कसैले पनि घरमै बसेर यसको प्रयोग पनि गर्नु हुँदैन ।’

कोरोना भाइरसको विरुद्ध हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो । तर, त्यसले विभिन्न असर तथा मुटुमा समस्या ल्याउने देखिएपछि प्रयोगमा आएको छैन । त्यसैगरी एन्टिभाइरल ट्रिटमेन्टका लागि रेमडिसिभर पनि प्रयोगमा आएको छ । यो चाहिँ कोभिडका बिरामीहरुलाई केही हदसम्म फाइदाजनक नै मानिएको छ । यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग भएको थियो ।

यसले कति दिनमा ठिक गर्छ र मृत्युदर कति घटाउँछ भन्ने स्पष्ट भएको छैन । साथै यसको थोरै उपलब्धता हुनु र मुल्य पनि तोकिएको छैन । डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया