आज : गते

ताजा शिर्षकहरु

पहिरोमा पुरिएका बालकको शव पांच दिनपछि भेटियो, परिवारका कोही पनि बाचेनन्

प्रकाशित
1.1K
SHARES

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको भारी वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।

यसैबीच बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा बालकको खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए । उता केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन् ।

एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि उक्त स्थानका सडक अवरुद्ध बन्न पुगेको हो ।

मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको लिम्चुङबुङ गाउँपालिकाले बताएको छ ।

यस क्षेत्र जोड्ने सडकहरुको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको सो गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए ।

उपाध्यक्ष राईका अनुसार मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बन्न पुगेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको छ ।

प्रतिक्रिया