आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लगातार स्थगित भयो नेकपाको सचिवालय बैठक

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र १ सय ७४ जनाको संसदीय दल मात्रै होइन नेकपाका लागि सबैभन्दा शक्तिशाली मानिने नौ सदस्यीय सचिवालय बैठक बस्नसमेत कठिन हुन थालेको छ । दुई अध्यक्षसहित पार्टीका शीर्ष नेताहरु रहेको सचिवालयले अत्यावश्यक, महत्वपूर्ण र रणनीतिक निर्णय गर्दै आए पनि पछिल्ला दिनमा बैठक बस्न सकेको छैन ।

तय भएका बैठक अन्तिम समयमा स्थगित हुने र केही महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्ने अवस्था नभएपछि सचिवालयकै सदस्यहरुबीच पनि अविश्वास बढेको छ । परिस्थिति र अंकगणित आफूअनुकूल नभएकाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक टार्दै आएको आरोप लाग्ने गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग परामर्श गरेर तत्काल बैठक बोलाउन अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि अन्य नेताहरुको दवाव छ । दुई अध्यक्ष ओली र दाहालबीच बेला–बेला भेटवार्ता भए पनि सचिवालय बैठक बस्न सम्भव भएको छैन । बरु दुई अध्यक्षको सल्लाहमा तय भएका बैठकसेमत कार्यव्यस्तता वा स्वास्थ्य अवस्थाको कारण देखाएर प्रधानमन्त्रीले टारेको भन्दै सचिवालयका अन्य सदस्यहरु असन्तुष्ट छन् ।

एमसीसीसँगको सम्झौता कार्यान्वयनको समयसीमा दुई साता मात्रै बाँकी छ । तर, यही विषयलाई मुख्य एजेन्डा बनाइएका नेकपा सचिवालयका दुई बैठक लगातार स्थगित भएका छन ।

एमसीसीलाई मुख्य एजेन्डा बनाएर नेकपाले पछिल्लो पटक जेठ ३२ मा सचिवालय बैठक बोलाएको थियो । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदल सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली तथा अर्थमन्त्री युवराज खतिवडालाई समेत बैठकमा आमन्त्रण गरिएको थियो । तर, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार ४ बजेका लागि तय भएको बैठक अचानक एक घण्टा अघि स्थगित भएको सूचना सचिवालयका सदस्यहरुले थाहा पाएका थिए ।

आफूलाई सन्चो नभएको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको सूचना सचिवालयका सबै सदस्यलाई दिन महासचिवलाई निर्देशन दिएका थिए । तर, त्यसै दिन प्रधानमन्त्री अन्य भेटघाटमा सक्रिय थिए ।

त्यसअगाडि एमसीसीलाई नै मुख्य एजेण्डा बनाएर जेठ २७ मा पनि नेकपाले सचिवालय बैठक बोलाएको थियो । सचिवालयबाहेक कार्यदलका सदस्यलाई पनि बैठकमा बोलाइएको थियो । दुवै अध्यक्षको सहमतिमा बैठक तय भए पनि अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई समेत जानकारी नदिई सिधै बैठक स्थगित गरेका थिए ।

सचिवालय सदस्यहरुका अनुसार त्यस दिन पनि बैठक स्थगनबारे महासचिव पौडेलले अन्य सदस्यहरुलाई जानकारी गराएका थिए । बैठक स्थगित हुनुको कारण सचिवालयका अन्य सदस्यहरुले थाहा पाएनन् । बैठक आकस्मिरुपमा स्थगित भएपछि त्यसै दिन वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष दाहाललाई भेटन खुमलटार पुगेका थिए ।

जेठ २७ र ३२ को बैठक स्थगित गरेका ओलीले त्यसअगाडिका सचिवालय बैठकबाट पनि टाढा बस्ने कोशिष गरेका थिए । जेठ १० गते पनि नेकपाले सचिवालय, कार्यदल सदस्य, स्थायी कमिटीका केही सदस्य र अन्य सरोकारवालापक्षसँग एमसीसीकै विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको थियो । बैठकमा पनि अध्यक्ष ओली उपस्थित भएनन् । ओली नआएपछि पार्टी प्रवक्ता श्रेष्ठले अनौपचारिक बैठक बसेको जानकारी गराएका थिए ।

यसअघि वैशाख २४ गते पनि ओली सचिवालय बैठककै बीचमा निस्केका थिए । ओली बीचमै निस्केपछि बैठकले कुनै महत्वपूर्ण निर्णय लिएको थिएन ।

प्रतिक्रिया