आज : गते

ताजा शिर्षकहरु

७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकताको प्रस्ताव

प्रकाशित
665
SHARES

काठमाडौँ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेपछि मात्रै नागरिकता दिनुपर्ने प्रस्ताव प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गरेको छ । उक्त विषयमा राजनीतिक दलहरूबीच भने विवाद कायमै छ ।

समितिको मंगलबारको बैठकमा समिति सचिवालयको तर्फबाट प्रस्तुत प्रस्तावमा लेखिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने सक्नेछ ।’

नेपाली नागरिकसँग विवाह गरेको सात वर्षपछि सरकारी अधिकारी समक्ष निवेदन दिन पाउने र तबसम्मका लागि स्थायी बसोबास अनुमतिपत्र दिनुपर्ने पनि प्रस्तावमा लेखिएको छ । उक्त अनुमतिपत्रका आधारमा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग दिने भनिएको छ ।

सभापति शशी श्रेष्ठले उक्त प्रस्ताव सबै राजनीतिक दलका सांसदहरूसँग परामर्श गरेर ल्याइएको बताइन् । विधेयक लामो समयदेखि समितिमा रहेको र नागरिकता नपाएर धेरै युवा जनशक्ति अवसरबाट वञ्चित भएका गुनासो आइरहेको बताउँदै उनले चालु अधिवेशनबाट पारित गर्ने गरी विधेयक संसदमा पठाउनुपर्ने बताइन् ।

सचिवालयको उक्त प्रस्तावमा सत्तारुढ नेकपाका सांसदहरूले सहमति जनाएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले भने पार्टी नेतृत्वसँग छलफल गरेर औपचारिक धारणा सुनाउने बताएको छ ।

नेकपा सांसद लालबाबु पण्डितले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि अंगीकृत नागरिकता दिनु सही भए पनि त्यसबीचमा सम्बन्ध विच्छेद भएमा उत्पन्न हुने परिस्थितिलाई समाधान गर्ने व्यवस्था कानुनमा हुनुपर्ने बताए । ‘कुनै नेपाली नागरिकसँग विदेशी महिलाको विवाह भएमा ७ वर्षपछि नागरिकता प्राप्त गर्ने र त्यो बीचमा जन्मेको सन्तानले प्राप्त गर्ने नागरिकता र ती महिलाको सम्पतिमा अधिकारसम्बन्धि व्यवस्था गर्न उपयुक्त हुन्छ ।’

विधेयक समितिमा रहेको वर्षौं भइसकेको बताउँदै सांसद झपट रावलले कि सरकारले विधेयक फिर्ता लिनुपर्ने कि समितिले अगाडि बढाउनुपर्ने बताएका थिए । नेपाली महिलाले मुख्यतः भारतलगायतका मुलुकमा अन्याय भोगिरहनुपरेको तर उताबाट विवाह गरेर आउनेलाई एक हातमा नागरिकता र अर्को हातमा सिन्दुरको व्यवस्था हुनु सही नभएको उनको भनाइ थियो । ‘हाम्रा चेलीहरूले हेपिनुपर्ने । हामीले पीर, चिन्ता गर्नुपर्छ कि पर्दैन ? एकअर्को मुलुकसँग पारस्पपारिक सम्बन्धका आधारमा सम्बन्ध राख्नुपर्ने भएकाले यो प्रस्तावित व्यवस्था ठीक छ,’ उनले भने ।

प्रतिक्रिया