आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं उपत्यकासहित आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

प्रकाशित
2.5K
SHARES

काठमाडाैं । सोमबार काठमाडाैं उपत्यकासहित देशभर थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १०१४ पुगेको छ । जसमध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

देशभर काेराेना संक्रमितकाे संख्या बढिरहेका बेलासोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । ति व्यक्तिहरु कुन ठाउँका हुँने जानकारी नदिइएपछि अब के हुन्छ ? को स्थितिमा उपत्यकावासी छन् । उता कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।

सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।

यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना, ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुई/दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । दैलेखकै दुल्लु नगरपालिका-१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

उता दाङमा पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको घोराहीस्थित दुई क्वारेन्टिनमा बसेका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र आधारभूत विद्यायलय क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएका थिए ।

नगर प्रमुख नरूलाल चौधरीले भने, ‘क्वारेन्टिनमा बसेका उनीहरूको जेठ २१ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट आउन ढिला भएपछि होम क्वारेन्टिनमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग उहाँहरुले राख्नुभयो । रिपोर्ट पोजेटिभ आएमा सम्पर्कमा आउने र घरबाहिर हिँडड्डुल नगर्ने शर्तमा हामीले उहाँहरूलाई जेठ २८ गते घर जान दिइएको थियौं ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार संक्रमण पुष्टि भएको जानकारी पाए लगत्तै उहाँहरुलाई खोजेर आइसोलेसनमा राख्ने काम भइसकेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टिनमा बसेका र कुनै लक्षण नदेखिएका व्यक्तिलाई घरमै सुरक्षित रुपमा बस्ने गरी पठाउन सकिने सर्कुलर भएपछि उनीहरुले पनि सोही अनुसार घर जान पाउनु पर्ने दबाव सिर्जना गरेको उनको भनाइ छ ।

‘एक साता बित्दा पनि रिपोर्ट नआएको र उनीहरुमा कुनै लक्षण नदेखिएपछि आपसी छलफलकै आधारमा उहाँहरुलाई घरमा सुरक्षित बस्ने गरी पठाएका हौं,’ उनले भने, ‘हामीले जबरजस्ती घर पठाएका होइनौं । घर गएपछि बाहिर हिंड्डुल गर्ने लगायतका काम गरेको रहेछ भने त्यसबारे बुझ्ने काम भइरहेको छ ।’

यसैबीच जनप्रतिनिधिको लापरबाहीले रिपोर्ट नआउँदै क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाएको भन्दै स्थानीयले बिरोध गरेका छन् । वडा कार्यालयमा भेला भएर स्थानीयले संक्रमणको जोखिमलाई मध्यनजर गरेर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएको नगरप्रमुख चौधरीले बताए ।

प्रतिक्रिया