काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रघातीलाई पहिचान गरि टुँडिखेलमा झुण्ड्याउनु पर्ने बताएका छन् । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे ।
उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे । अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’
उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे । महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ उनले प्रश्न गरे, ‘यो राष्ट्रघाती को हो ? यसको पर्दाफास गर्नुपर्छ ।’ महाकाली सन्धिको बेलामै महाकाली नदीको मुहान कहाँ हो भनेर टुंगो लगाएको भए आज यो अवस्था नआउने उनको भनाइ थियो ।
प्रतिक्रिया