आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारबिरुद्ध आन्दोलन चर्किएपछि मनिषा कोइरालाले गरिन यस्तो ट्वीट, कसलाई के भनिन ?

प्रकाशित
583
SHARES

काठमाडौँ । ओली सरकारबिरुद्ध आज पनि देशैभर आन्दोलन चर्किएपछि अभिनेत्री मनिषा कोइरालाले ट्वीट गरेकी छिन। अभिनेत्री कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ माथि प्रश्न उठाएकी छन् । कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको उनको भनाइ छ ।

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने ऐतिहासिक दिनमा पनि प्रदशन नरोकिएपछि अभिनेत्री मनिषा कोइरालाले असन्तुष्टी व्यक्त गरेकी हुन् ।

टि्वटरमा मनिषाले लेखेकी छन्, ‘प्रदर्शनको टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा टि्वट गरेकी थिइन् । उक्त टि्वटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए । भारतीयहरुले सामाजिक सञ्जालमा उनीमाथि तथानाम गाली गरे । तर, मनिषा आफ्नो अडानबाट कत्ति पनि विचलित नबनेको आजको टि्वटले देखाएको छ । एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल फर्केकी छन् । उनी एउटा होटलमा क्वारेन्टाइन बसिरहेकी छन् ।

सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना छन् । शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिए।

उनीहरूका विषयमा अनुसन्धान भइरहेको पनि यादवले बताए । पक्राउ पर्नेमा चीनका दुई महिला र एक पुरुष, एक अमेरिकी महिला, एक क्यानाडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली छन्।

सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो। कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।

मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन्। बिहीबार बालुवाटारमा प्रर्दशन गरेका युवाहरुले शुक्रवार बसन्तपुरमा प्रर्दशन गरेका थिए। आज उनीहरुको विरोध प्रर्दशनस्थलको रुपमा मण्डला रहेको छ ।

यसैबीच कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

१० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार रहेको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ।

सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।

यसैगरी प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया