आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारबिरुद्ध देशभर आन्दोलन चर्केका बेला स्वास्थ्यमन्त्रीले दिए यस्तो विवादास्पद अभिब्यक्ति

प्रकाशित
850
SHARES

काठमाडाैं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर बिरोध प्रदर्शन चर्किरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको अभिब्यक्ति दिएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाईएको प्रतिक्रिया दिएका हुन् । उनले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताए ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।

उनले भने ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ । ’’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको आरोप लगाए । पछिल्लो एक दुई दिनका घटनाम हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनको भनाई छ ।

मन्त्री ढकालले कान्ति बाल अस्पतालमा इ टिकेटिङ प्रविधि सुरु भएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले चिनजान र परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए । उनको अभिव्यक्तिले जनतालाई आक्रोशित तुल्याएको छ ।

कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । काठमाडाैंकाे बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकार विराेधी प्रदर्शनमा भएकाे छ ।

त्यस्तै हेटौंडा, बुटवल, भैरहवा पाल्पामा पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन भइरहेको छ । सरकारले काेराेना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् ।

शुक्रबार बुटवलमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर बेसा हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए । बिहीबार पनि काठमाडौंमा बालुवाटार र देशका प्रमुख सहरहरुमा सरकारविरुद्ध प्रदर्शन भएको थियो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता देखाएको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति सबैले ऐक्यबद्धता जनाएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गरेका थिए । कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उनीहरूले जोड दिएका थिए ।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएछ । वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन क्यानाडाका विदेशमन्त्रीले दिएको र बेलायतका विदेशराज्यमन्त्रीले महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ ।

क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडिटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडिटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब सङ्कलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना सङ्क्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएको भन्दै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट घर फिर्ता पठाइएको छ । यही जेठ २२ गते धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएका घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुषलाई बिहीबार पुष्पगुच्छासहित नगरप्रमुख ममताप्रसाद चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बिदाइ गरेका हुन् ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरी आइसोलेसनबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिकाअनुसार उनलाई घर पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए ।

१४ दिन क्वारेन्टिनमा बसिसकेपश्चात पोजेटिभ देखिसकेपछि थप १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका कारण फर्किन पाउँदा निकै खुशी लागेको आइसोलेसनबाट घर फर्काइएका ३२ वर्षीय पुरुषले बताए ।

प्रतिक्रिया