आज : गते

ताजा शिर्षकहरु

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता भेटिए कारबाही हुन्छ- प्रधानमन्त्री ओली

प्रकाशित
725
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधाबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा अनियमितता भएको भनेर उठाएका प्रश्नको जवाफ दिँदै त्यसो गरेको पाइएमा कानुनको कठघरामा उभ्याइने बताएका हुन् ।

केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि जनाएका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘कतिपयले यसमा अनियमितता भयो भन्ने सुनेका कुराहरूलाई उठाउनुभएको छ । कतिपयले यस्तो भन्ने रुचि पनि राख्नुहुन्छ, जेमा पनि अनियमितता भयो भन्ने र लान्छित गर्ने गर्नुहुन्छ । त्यसमा भर नपर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले भने, ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ । कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ ।’

‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्‍मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ । अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ,’ उनले थपे, ‘यस्तो महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको छ । यस्तो कठिन अवस्थामा पनि अनियमितता भएको छ भने सहिन्न ।’

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब देखाउन प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबारको बैठकमा माग गरेको थियो । जवाफमा प्रधानमन्त्रीले हिसाब देखाउने आफ्नै प्रणाली रहेको बताए । उनले संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारलाई बजेट पठाइएको र दिनदिनै लेखा परीक्षण नहुने धारणा राखेका थिए ।

मुलुकमा दैनिक ५ हजारसम्म पीसीआर परीक्षण भइरहेको प्रधानमन्त्रीले जानकारी दिए । विदेशबाट दैनिक ८ हजारसम्म मानिस आइरहेकाले समस्या भएको उनको भनाइ थिय । उनले सरकारले कोरोनासँग लड्ने क्षमता विकास गरिरहेको बताए । सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले नेपाली राजनीतिक दलहरू जनताको भावनाअनुसार चलेको प्रष्ट भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो संसदमा साधारण राष्ट्रिय एकता देखियो, जो अत्यावश्यक छ । आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न राष्ट्रियताको सवालमा कोरोनाको सवालमा र यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठेराहरूको समाना गर्न तयार छौं भन्ने देखिएको छ ।’

भौगोलिक अखण्डता कायम गर्नका लागि सबै राजनीतिक दल जनताको भावनाअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो । संसदीय प्रणाली र बहुदलीय व्यवस्थामा राष्ट्रिय एकता विरलै देखा पर्ने भए पनि नेपालका राजनीतिक दलहरूले भने पटकपटक यसरी राष्ट्रिय एकताको प्रदर्शन गरेका देखाएको प्रधानमन्त्रीले दाबी गरे । ‘हाम्रो संसद् यस मामिलामा अत्यन्तै गम्भीर छ । परेका बेला राष्ट्रिय समस्याहरूसँग जुध्न, राष्ट्रका सामू साझा चुनौतीको सामना गर्न जिम्मेवार छ र एकताबद्ध ढंगले बढ्न तयार छ । एकता भएर अगाडि बढ्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ,’ ओलीले भने ।

प्रतिक्रिया