आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालको नामै मेटाउन खोज्ने सरिता गिरीहरू !

प्रकाशित
2.4K
SHARES

दब्बू मानसिकता भएपछि कसैको केही नलाग्ने रहेछ । नेपाली राजनीतिमा ढाँट कति फलिफाप ! महाकाली सन्धिबाट वार्षिक सवा खर्ब आम्दानी हुने कुराको अभिव्यक्ति दिनुहुने केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । अझ ओली त डबल नेकपाका अध्यक्ष पनि हुनुहुन्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भू–भागमाथि भारतीय साम्राज्यवादले अतिक्रमण गरिरहेको यतिबेला ओली प्रभृत्ति र प्रवृत्ति एमसीसीलाई जसरी पनि पारित गर्ने प्रपञ्च गरिरहेका छन् । एमसीसी पारित गराउनेहरू नियत सारतः नेपाल र नेपाली जनताको अस्तित्व नै मेटाउने नै देखिन्छ ।

नेपाली राजनीतिको नकरात्मकतामा केपी ओलीहरू विभिन्न सन्दर्भ र प्रसङ्गमा आइरहने नाम हुन् । कोराना महामारीले आक्रान्त भएको यतिबेला नेपाली जनताले नमुना स्वास्थ्यमन्त्री व्यहोर्नुपरिरहेको छ । कोरोना महामारीबाट पछिल्लो भयावह अवस्था आउनुमा उहाँको मुख्य भूमिका रहेको करामा कुनै शङ्का छैन । विश्वमा अन्य मुलुकमा स्वास्थ्यमन्त्रीहरूले भटाभट राजीनामा दिइरहेका छन् । नेपालमा ‘नैतिकवान्’ स्वास्थ्यमन्त्रीको अत्तोपत्तो नै छैन ।

यो छलफलमा प्रदीप ज्ञवाली पनि छुट्न नहुने नाम हो । हुन त व्यक्तिगत रूपमा म आफैँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नजिकबाट चिन्दछु । विभिन्न साहित्यिक–सांस्कृतिक कार्यक्रममा भेटघाट पनि हुने गरेको छ । म प्रगतिशील लेखक सङ्घको उपाध्यक्ष हुँदा उहाँ केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । बैठकहरूमा सहभागी हुने गर्नुहुन्थ्यो उहाँ । कुरा मिठै हुन्थे उहाँका । हुन त उहाँका बारेमा अनेक कथा हाल्छन् मानिसहरू । कोही अमेरिकी गुप्चचर संस्था सीआईएका भत्तावाला र तालिमप्राप्त नेपाली प्रतिनिधि पनि भन्छन् उहाँलाई ।

त्यसै भएर उहाँले एमसीसीलाई जसरी पनि पास गराउन खोज्नुको कारण पनि त्यही भन्नेहरू पनि छन् । जे भए पनि उहाँ व्यक्तिगत रूपमाा जति शालीन र भद्र देखिनुहुन्छ, राष्ट्रियताको मामिलामा निकै कमजोर हुनुभएको जनताले महसुस गरिरहेका छन् । नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि हविगत देखिएको छ र उहाँले एमसीसीको चर्को वकालत गरेर आफूलाई राष्ट्रघाती, जनघातीका रूपमा चिनाउनुभएको छ । नेपालको नामै मेटाउनेहरूको सूचीमा ज्ञवालीको नाम पनि अग्रपङ्क्तिमा आउँछ ।

भारतीय साम्राज्यवादले नेपाली भूमिमाथि निर्माण गरेको मानसरोवर राजमार्गको रक्षामन्त्री राजनाथद्वारा उद्घाटन भएपछि नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षधरहरूले विभिन्न स्वरूपबाट सशक्त प्रतिरोध गरिरहेका छन् । भारतीय सेना प्रमुख मनोज नरभानेले नेपालविरुद्ध करिब करिब युद्धकै घोषणासरह नेपाली राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आघात पुग्नेगरी यस्तो अभिव्यक्ति दिएका छन्, “नेपालले लिपुलेकको मुद्दा अरू कुनै मुलुकको इशारामा उचालेको हो । भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै हो । भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद छैन ।

नेपालले आफ्नो भू–भाग महाकाली नदीको पूर्वतर्फ भएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको छ । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण छैन ।” अझ नेपालले आफ्नो भू–भाग समेटेर नक्सा प्रकाशन गरेपछि ‘भारतीयहरू’ निकै सलबलाएका छन् । ठीक यही बेलामा भारतीय प्रनितिधिहरूको नेपालविरोधी स्वर ठूलो हुन थालेको छ । नेपालमा बसेर, नेपाली दाल र रोटी खाएर, नेपाली जनताले आफ्नो रगत–पसिनाले तिरेको राजस्वमा ढलीमली गरेर नेपाल र नेपाली जनताका विरुद्ध ठूलो स्वरले चिच्याउनेहरूमा अग्रपङ्क्तिमा हुनुहुन्छ– कथित माननीय सांसद् सरिता गिरी ।

अहिले नेपालमा ‘असन्तुलित मानसिकताकी मान्छेलाई गरिब नेपालीले आफ्नो छाक काटेर बुझाएको कर र मालपोतको रकमले किन पाल्ने ? भारतीय दूतावासले दिएको ड्राफ्ट सदनमा वाचन गर्नेहरूलाई किन घोक्रेठ्याक नलगाउने ?’ जस्ता टिप्पणी उठिरहेका छन् । निश्चय पनि सरिता गिरीका बारेमा गम्भीर प्रश्न उठेको छ यतिबेला । त्यस्तै सरिता गिरीले पनि केही गम्भीर सवाल उठाएकी छिन् । केही समयअघि सरिता गिरीले एउटा गम्भीर सन्दर्भ सार्वजनिक गर्नुभएको थियो । त्यो व्यहारो यस्तो थियो, ‘अन्धो र एकाङ्गी राष्ट्रवादले आँखा खोल्दैन किनभने सत्यलाई स्वीकार गर्ने क्षमता ऊसँग हुँदैन ।

हिम्मत छ भने सगरमाथा क–कसले कुन कुन समयमा र कति चरण के के का लागि चीनलाई सुम्पिएको छ, नेकपाको सरकार र प्रतिपक्षी दल नेपाली कांग्रेसले आम जनतालाई जानकारी गराओस् । आज सगरमाथामा हुवाए कम्पनीको आधार स्टेसन बनिसकेको छ र हुवाए कम्पनीको कन्ट्रोल रुम सिंहदरबारमा छ । कुन नेपाली सुरक्षित छ अब नेपालमा र कहाँ छ नेपालको सार्वभौम सत्ता ?

हामीलाई थाहा छ, नेपालको सत्तामा रहेका नेपाली अनुहार र नेपाली नागकिता बोकेका मान्छेहरू बस्छन् । नेपाली तलब र भत्रा खान्छन् अनि विदेशीका लागि काम गर्दछन् । अर्थमन्त्री युवराज खतिवडादेखि विष्णु रिमालसम्म त्यही त हुन् । सरिता गिरी जानेमानेकै हुनुहुन्छ । उहाँले अहिले पनि ‘लिम्पियाधुरा नेपालको भू–भाग हो भनेर मान्दिनँ’ भन्ने उदेकलाग्दो जिकिर गरिरहनुभएको छ । उहाँले नेपालको सदनमै नेपालको सार्वभौम अखण्डताको विरुद्ध बोलिरहनुभएको छ । यसले सरिता गिरीको ‘मनोवैज्ञानिक परिस्थिति’ माथि चौतर्फी प्रश्नचिन्ह खडा गरिदिएको छ । यसले देशभक्त नेपालीलाई अत्यन्त आक्रोशित र क्षुब्ध बनाएको छ ।

सरिता गिरीको रास्ट्रियतासम्बन्धी चिन्तन र चेतनाबारे गम्भीर समस्या देखिएको कुरा सही हो । उहाँका हरेक बोलीमा राष्ट्रद्रोही भाव झल्किन्छ । यो डरलाग्दो कुरा हो, यो भयानक कुरा हो । यद्यपि हरेक राज्यका आ–आफ्नै नीति हुन्छन्, विश्वका कुनै पनि मुलुकका मान्छे कुनै पनि मुलुकमा गएर त्यहाँको विधि र पद्धतिमा रहेर विश्व–मानवताको सेवा गर्ने अधिकार जो कोहीलाई पनि हुन्छ । तर, सरिता गिरी विश्व–मानवताको सेवाभन्दा पनि भारतीय साम्राज्यवादको सेवामा निर्लिप्त रहनु वा देखिनु गम्भीर कुरा हो । हामीले इटालीका सोनिया भारतीय काङ्ग्र्रेस आईको अध्यक्ष बनेर काम गरिरहनुभएको पनि त देखेका छौँ । के सोनियाले भारतको सदनमा गएर भारतका विरुद्ध र इटालीको पक्षमा बोल्नुहुन्छ त ? बोल्नुभएको छ त ? सोनियाबाट बुद्धिजीवी सरिताले केही न केही त अवश्य सिक्नुपर्ने हो ! अब पनि सरिताको रवैयामा कुनै सकारात्मकता नदेखिएकामा उहाँलाई भन्नैपर्ने हुन्छ– खाओगी नेपालका और गाना गाओगी भारतका ?

गङ्गा चौधरीले सदनमै केही सवक सिकाइदिनुभएको छ सरिता गिरीलाई । सरिता गिरीलाई यो सिक्ने अवसर पनि हो । गङ्गा चौधरीहरूको रगत यसै उम्लिन खोजेको होइन । गङ्गाहरूको देशभक्तिको रगत हो, स्वाभिमानको रगत हो, मधेसको रक्षाकवच आदिबासीको रगत हो । कुनै पनि राष्ट्रघाती, देशद्रोहीले आफ्नो देशको विरुद्ध कुर्लिरहँदा को स्वाभिमानी नेपाली चुप लागेर बस्न सक्छ र ! भएको यही हो, गङ्गाहरू चुप लागेनन् । त्यसपछि सदनमा बोल्दै सरिता गिरीले ‘यहाँ जे पनि हुन सक्थ्यो’ भनेर दिनुभएको धम्कीको कुनै अर्थ छैन । न्यूनतम पनि सरिता गिरीमा देशभक्तिचाहिँ हुनैपर्दछ । भाषा, नागरिकताको प्रकार, शैली, स्वभाव, भारतीय चेली, रूप आदि त्यसपछिका कुरा हुन् । पटक पटक विवादमा आइरहनुहुने सरिता गिरीहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला पनि हो यो ।

नेपालको राष्ट्रियता सङ्कटग्रस्त बन्दै गएको छ । फासिवादी ओली सरकारविरुद्ध जनताको आक्रोश चुलिँदो छ । ओली सरकार युवा, विद्यार्थी, बुद्धिजीवी, नेता, प्राज्ञिक, अभियन्तामाथि दमन गरिरहेछ । ओलीको राज्यआतङ्कले सीमा नाघ्दै गएको छ । फेरि सरिता गिरीहरू यतिबेला नै देश र जनताका विरुद्ध विषवमन गरिरहनुभएको छ । यहाँ सरिता गिरीहरूको कुरा मात्र होइन; यो त देश कस्तो हुने, कस्तो देश बनाउने ? जनताको अवस्था कस्तो हुने, व्यवस्था कस्तो हुने, कसरी आत्मनिर्भर हुने भन्ने प्रश्नहरू पनि हो यो । जनसङ्ख्या र भू–भाग करिब करिब नेपालजत्तिकै भएको उत्तर कोरियाको अमेरिकी साम्राज्यवादलाई कसरी थर्कमान गरिरहेको छ भन्ने कुरा सिक्नलायक छ ।

हुन त बेला–बेलामा चर्चामा आइरहनुहुने थोरै सांसद्मध्ये एक हुनुहुन्छ– सांसद् सरिता गिरी । संविधानसभामा नेपालको नाम परिवर्तन गर्न माग गर्नुहुने सरिता गिरीले फेरि संसद्मा कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसित छलफल गर्नुपर्ने अभिव्यक्ति दिनुभयो । उहाँले यसबारे भारतसित छलफल नै नगरी नीति तथा कार्यक्रममा आउनु गलत भएको धारणा पनि राख्नुभएको थियो । सभासद्को भेषमा सदनबाटै स्वतन्त्र सार्वभौमसत्तासम्पन्न अखण्ड राष्ट्रको हुर्मत लिने कार्य खेदजनक र निन्दनीय छ । हामीले यस्तो देशद्रोही र राष्ट्रघाती चिन्तनको सशक्त प्रतिवाद गर्नुपर्दछ ।

अर्को एक गम्भीर समाचार पनि आइरहेको छ– काठमाडौंको एक रेस्टुरेन्टमा भारतीय खुफिया एजेन्सी ‘रअ’ र नेपालका दलालसँग वार्ता गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीका एआईजी केसी । एआईजी केसीले नेपालको सीमासम्बन्धी महत्वपूर्ण सामग्री भारतलाई उपलब्ध गराएको समाचार छ । यसले नेपालमाथि भारतीयहरू कसरी खेलिरहेका छन् भन्ने कुरा प्रस्ट हुन्छ । नेपालमा सरिता गिरीहरू त कति छन् कति ! अझ सरिता गिरी त नेपाली नागरिकसित बिहे गरेर आउनुभएकी अङ्गीकृत नेपाली नागरिक हुनुहुन्छ । अङ्गीकृत नागरिकताबारे रतन भण्डारी भन्नुभएको छ, “अङ्गीकृत नागरिकहरूले निम्त्याउने समस्या भनेको सरिता गिरी हो, सरिता गिरी प्रकरणले अङ्गीकृतहरूबाट भविष्यमा हुन सक्ने गम्भीर खतराको पूर्वसङ्केत गरेको छ ।”

नेपालमा आएको शक्तिशाली भूकम्पको बेलामा पनि सरिता गिरी विवादित बन्नुभएको थियो । हामी ठान्छौँ, ‘पश्चिम दुख्दा पूर्व दुख्नुपर्छ, पूर्व दुख्दा पश्चिम दुख्नुपर्छ । पहाड दुख्दा मधेस दुख्नुपर्छ, मधेस दुख्दा पहाड दुख्नुपर्छ । हामी यो पनि चाहन्छौँ– पूर्वबाट उडेको परेवाले पश्चिम पुगेर चारा टिपोस् । पश्चिमबाट उडेको कोइलीले पूर्व पगेर सङ्गीत भरोस् । तर विडम्बना ! यहाँ त सत्ता हिंश्रक छ । यहाँ शान्ति छैन । यहाँ स्वतन्त्रता छैन । यहाँ सुरक्षा छैन । आजको सरकार अशान्ति र असुरक्षाको कारखाना खोलेर बसेको छ । आज सत्ता र सरकारका चरित्र उही छन्, कम बेसी मात्र हुन् ।

सरिता गिरीहरू यिनै सत्ताका उत्पादन न हुन् । करिब पाँच वर्षअघि पनि सरिता गिरीले भूकम्प–पीडितलाई तराईमा बसाउने षड्यन्त्र भएको र महेन्द्रीय राष्ट्रवादको गन्ध आएको भन्दै ट्वीट गरेपछि चौतर्फी आलोचना भएको थियो । त्यतिबेला उहाँको ट्वीट थियो– ‘भुइँचालोलाई आधार बनाई भूकम्प–प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ ।’ उहाँले भूकम्प–पीडितको राहत बितरणमा देखिएको शिथिलताले नेपालमै आन्तरिक शरणार्थी पैदा गर्ने र तराईमा सार्ने षड्यन्त्र भइरहेको भन्नुभएको थियो ।

भूकम्पबाट विस्थापितहरूलाई तराईमा अस्थायी बसोबास गर्ने प्रस्तावको विरोध गर्ने सरिता गिरीलाई तत्कालीन एमाले नेतृ रामकुमारी झाक्रीले सामाजिक सञ्जालबाट कडा जवाफ दिनुभएको थियो । त्यतिबेला रामकुमारी झाक्रीले लेख्नुभएको थियो– इन्डियन आप्रवासी हुन् सरिता गिरी । नेपाल, नेपाली भू–भाग हिमाल, पहाड, तराईका बारेमा बोल्ने अधिकार छैन उनलाई । हामी हाम्रा जनताका लागि जुनसुकै भू–भागमा बसोबासको व्यवस्था गर्न सक्छौँ । नेपाली नेपालीको सद्भाव भड्काउन खोज्नेहरूले नेपाली मनहरू एकले अर्कालाई परेको बेला कसरी फाटेको मन सिलाउँछन् भन्ने हेक्का राखोस् ।

त्यतिबेला पनि सरिता गिरीको जिकिर थियो– राजा महेन्द्रले पहाडका जनतालाई तराईमा बसोबास गराए । त्यो उनको त्यो नीतिको चाहिँ म विरोधी हुँ । मलाई अहिले त्यस्तै महसुस भइरहेको छ भनेकी हुँ । नेपाली कांग्रेसका सभासद्हरूले त दुई दिनअघि पहाडका पीडितहरूलाई तराईमा सार्नुपर्ने निर्णय नै गरेका छन् । राहतमा ढिलाई गर्ने र जनतालाई बाध्य बनाएर आन्तरिक शरणार्थी बनाउने र राजनीतिक स्वार्थ पूरा गर्ने सरकारको गलत नियत देखिरहेकी छु । यसकारण पनि म पहाडका मानिस तराईमा सार्ने नीतिको विरोधी हुँ ।

नेपालको आफ्नो देशको नक्सा जारी गर्न पनि भारतको सहमतिबिना जारी गर्न मिल्दैन भन्ने सांसद सरिता गिरीलाई अहिले भारतीय एजेन्ट भएको आरोप लागिरहेको छ । सरिताले यसको व्यवहारतः खण्डन गर्न आवश्यक छ । सांसदजस्तो गरिमामय पदमा बसेर नेपाल राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको विरुद्धमा बोल्ने छुट कसैलाई पनि हुँदैन । निश्चय पनि सरिता गिरी नेपालको सङ्घीय संसदमा बैठकमा विदेशीको स्वार्थ पूरा गर्ने ढङ्गले प्रस्तुत हुनुभएको छ । प्रश्न त यो पनि त छ– नेपालमा संसदको लोगो भिरेर, सांसदको सुविधा उपभोग गरेर विदेश र विदेशीको तावेदारी गर्ने सरिता गिरीहरू कति होलान् !

राष्ट्र असजिलो अवस्थामा कुनै पनि नागरिकको असली पहिचान झल्किन्छ भन्ने कुराको हेक्का सरिता गिरीहरूलाई हुनुपर्ने हो ! सरिता गिरीको नेपालसम्बन्धी चिन्तनका सन्दर्भमा एक प्रसङ्गमा नेता भीम रावलले भन्नुभएको छ, “नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितिमा सरिता गिरीले नेपालको नामै हटाउने लिखित प्रस्ताव सभापति निलाम्बर आचार्यसमक्ष राख्दा डा.प्रकाशचन्द्र लोहनी र मैले प्रतिवाद गरेका थियौँ । नेपालको सबै भू–भाग राखी सरकारले नक्सा प्रकाशनको कुरा गर्दा उहाँ आक्रोशित हुनुभएको छ ।”

अन्तमा प्रस्तुत छ, माक्र्सवादी कवि निभा शाहले सरिता गिरीका सन्दर्भमा गर्नुभएको टिप्पणी– सरिताजी, लिम्पियाधुरा नेपालको हो भनेर प्रमाणहरूले भन्छ । तपाईंको नागरिकता नेपालको हो भनेर प्रमाणहरूले भन्छ । जब तपाईं प्रमाणहरूलाई मान्नुहुन्न भने तपाईंको नेपाली नागरिकता तपाईंको कसरी आफ्नो भयो ? तपाईं अब यसो गर्नुहोस्, तपाईंको भूपू नागरिकता जुन देशको हो, त्यही देशमा फर्किनुहोस् । होइन भने सोनिया गान्धीजस्तै अङ्गीकृत देशप्रति बफादार बुहारी हुन सिक्नुहोस् । तपाईंसँग नैतिकता छ भने दुई विकल्पमा एक रोज्नुहोस् !

प्रतिक्रिया