आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विद्युतीय सवारीमा लगाइएको करप्रति संसदमा कांग्रेसको आपत्ति

प्रकाशित
633
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको औसतमा ११३ प्रतिशतसम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गरे ।

बैठकको प्रारम्भमै कांग्रेस सांसद आफ्नो स्थानमा उभिएपछि सभामुख अग्निप्रसाद सापकोटाले दिएको समयमा सांसद कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाए । ‘यो सत्तारुढ दलकै घोषणापत्र विपरीत हो’, उनले भने। यसअघि यही सरकारले विद्युतीय सवारीमा प्रोत्साहन नीति अघि बढाउनु र अहिले विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति भएको उनको भनाइ थियो ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने सांसद कँडेलको धारणा थियो । वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले माग गरे ।

नेपालले अन्तरराष्ट्रिय रुपमा गरेको प्रतिबद्धता विपरीतसमेत यो व्यवस्था रहेको बताउँदै उनले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। त्यस्तै कांग्रेस सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए । उनले गृहमन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारमिा काम गर्नुपर्ने पनि बताए ।

महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए । सरकार राजनीतिक, आर्थिक र कुटनीतिक रुपमा असफल भइसकेको उनको भनाई थियो ।

प्रतिक्रिया