आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिममा आइतबार क्वारेन्टिनमा रहेका थप २ जनाको मृत्यु

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा आइतवार थप २ जनाको मृत्यु छ। डोटीको क्वारेन्टिनमा बसेका एक र बैतडीको क्वारेन्टिनमा बसेका अर्का एक व्यक्ति गरि २ युवकको मृत्यु भएको हो । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको छ ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी पनि भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन् ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनका अनुसार उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाइने भएको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।

यस्तै उता बैतडीमा पनि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए । मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल पनि भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताएका छन् । भारतबाट मृतकसँगै उनका सहोदर भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको महराले जानकारी दिए । सबैको स्वाव संकलनका लागि जिल्लामा भिटिएम किट नभएकाले मृतकको मात्रै स्वाब पठाइएको उनले बताए ।

प्रतिक्रिया