आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गोरखामा पहिलोपटक देखियो १० जनामा कोरोना, गण्डकी प्रदेशमा एकै दिन ३८ थपिए

प्रकाशित
1.4K
SHARES

गोरखा । गण्डकी प्रदेशको गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका १० जना मध्ये एक जना प्रहरी हिरासतमा रहेका व्यक्तिमा पनि कोरोना देखिएको हो । संक्रमित ८ जना भारतबाट आएका थिए ।

कोरोना देखिएकामा गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरु ९ जना क्वारेन्टिनमा थिए। उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । जिल्ला प्रसाशन कार्यालय गोरखाका अनुसार संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जना कोरोना भाइरस देखिएको छ । स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, बागलुङमा थप १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् । संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

प्रतिक्रिया