आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘सरकार जनताकाे अपेक्षाविपरीत चल्याे’

प्रकाशित
506
SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले जनताको अपेक्षाविपरीत सरकार चलेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले सरकारको काम कोरोना पीडित जनतालाई राहत दिनेमा भन्दा पनि विलाशितामा लागेको बताएका हुन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद रिजालले भने, ‘अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ । मुलुक बाहिर बसेका नेपालीहरू कसरी देशमा पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ । सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त छन् ।’

कोरोना महामारीका बीच राष्ट्रपति कार्यालयमा कार्पेटलगायतका सामग्री खरिद प्रक्रिया अगाडि बढेको कुरा सार्वजनिक भएतर्फ संकेत गर्दै सांसद रिजालले थपे, ‘कार्पेटको व्यवस्था गर्दैछ सरकार, अनि सत्तारुढ दलका अरु मानिसहरू सत्ताको बाँसुरी र सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रोसँग बज्दछ भनि प्रयत्न गरिरहेका छन्।’

यो सबै सरकारमा रहेकाहरूमा इमानदारिता र क्षमता नभएकाले भइरहेको रिजालको भनाइ थियो । उनले बजेट आउनु पहिला विद्युतबाट चल्ने सवारी साधनलाई भन्सारबाट छोड्न दिएको घटनाले अर्थमन्त्री युवराज खतिवडाको क्षमता मात्रै नभई इमानदारितामा पनि प्रश्न उठेको बताए । ‘सरकारमा इमान्दारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडीहरुलाई एकदिन अगाडि जसरी भन्सार नउठाई छाड्यो र कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ,’ उनले थपे, ‘क्षमताको मात्रै कुरा होइन इमान्दारिताको पनि कुरा हो ।’

मुलुकको अर्थतन्त्र सरकारले भनेझैं शिथिलमात्र होइन संकुचित भइरहेको भन्दै रिजालले यो वर्ष आर्थिक वृद्धिदर नकरात्मक हुने बताए । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा २० प्रतिशतले कमी आउने, खर्चयोग्य आम्दानी पाँच प्रतिशतभन्दा बढीले घट्ने भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।

यस्तै अर्का कांग्रेस सांसद गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो । ‘बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भुमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ ?,’ सांसद थापाले भने, ‘हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं । प्रधानमन्त्री त पुग्नुभयो !’

प्रतिक्रिया