आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैंमा विहानैदेखि सबै पसल खुला

प्रकाशित
2.3K
SHARES

काठमाडौं । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।

कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णय पछि सबैले पसलहरु खुला गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

७२ दिनदेखि चलिरहेको लकडाउनको कारण व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज, किस्ता, कर्मचारीको तलव दिन समेत मुस्किल परेको कारण पसल खोल्ने निर्णय गर्नु परेको कटुवालले बताए। महासंघ मातहतमा ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, इम्पोर्ट–एक्पोर्टदेखि सामान्य व्यापारी समेत सदस्य रहेको महासंघले जनाएको छ।

बानेश्वरलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको छ । जबर्जस्ती खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनी पछि वानेश्वर लगायतका केही क्षेत्रका पसलहरु भने खुल्न बाँकी रहेको महासंघले बताएको छ । तर पसल संचालन गर्दा प्रशासनले बल प्रयोग गरेर बन्द गराए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव-भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने उनले चेतावनी दिए।

यद्यपि, आजै सबै क्षेत्रका पसलहरु खुला गर्ने महासंघले बताएको छ । बिहिबार न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वर लगायतका धेरै ठाउँका पसलहरु खुला भइसकेको महासंघका अध्यक्ष कटुवालले बताए । ‘उपत्यकामा हाम्रो २७ ओटा संगठन छ र प्रत्येक संगठनमा एक हजार भन्दा धेरै सदस्यहरु छन्। त्यस्तै देशैभरी सम्पर्क समिति पनि छन्। हामीले सबैलाई पसल खोल्न आह्वान गरेका छौ’ उनले भने।

प्रतिक्रिया