आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद बैठक बस्दै, संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ । संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा नै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ । सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

राजपाको अर्को संशोधन विधेयक

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ । तर, राजपाले ल्याएको संविधान संशोधन सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता हुन बाँकी छ ।

राजपाले नक्सा सम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि यही विषय राखेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नक्सासम्बन्धी विषयमा मात्रै संविधान संशोधन गर्ने र बाँकी विषयमा छलफल गर्दै गरौंला भनेपछि राजपा नेपालले आफ्ना मागहरुलाई उल्लेख गरेर संविधान संशोधन सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्न खोजेको छ ।

राजपाले आफ्नो संविधान संशोधन प्रस्तावमा प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेको छ । राजपा र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ बनिसकेको छ ।

नयाँ पार्टी बनेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ । तर, कानुनी रुपमा राजपा र समाजवादीको अस्तित्व कायम छ । पार्टी एक भइसकेको भएपनि राजपाले आफूहरुलाई नसोधी संविधान संशोधन विधेयक लगेको समाजवादीको आरोप छ । सरकारले ल्याएको विधेयकमा विरोध गर्ने पक्षमा आफूहरु नरहेको पनि उनले बताए ।

प्रतिक्रिया