आज : गते

ताजा शिर्षकहरु

नेपालमा २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा

प्रकाशित
1.1K
SHARES

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।

२०७२ साल जेठ १५ गते भने नेपालमा विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस मनाइएको थिएन । देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनता उत्साहित हुन सकेका छैनन् ।

प्रतिक्रिया