आज : गते

ताजा शिर्षकहरु

उपत्यकामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

प्रकाशित
0.9K
SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले आज (बुधबार) राति १० बजेदेखि अनिश्चितकालसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प हुने जनाइएको छ । मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ बाँके पुगेसँगै निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो । बुधबार राति १० बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांङ्गले जानकारी दिए । तस्विर: गुगल

प्रतिक्रिया