आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

प्रकाशित
675
SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।

सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए । थ्रेस होल्डका कारण गत प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले दलको मान्यता पाउन सकेन । तर सो पार्टीबाट विजयी सांसद् राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद्को भूमिकामा छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि सरकारले संविधान संशोधनको तयारी गरेको छ । यता संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस नहुने भएको छ । आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो ।

तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । किन हटाइएको हो भन्ने उनले जानकारी नभएको बताए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै दलहरूबीच सहमति गर्नका लागि सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा कांग्रे‍सले तत्काल निर्णय गर्न नसकिने बताएको थियो । उसले केन्द्रीय समिति बैठकले संविधान संशोधनबारे निर्णय लिने जानकारी दिएको थियो भने राजपा र समाजवादीले संविधान संशोधनमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने अडान दोहोर्‍याएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह गरेका थिए । उनले राजपा र समाजवादीले उठाएको संविधान संशोधनको माग पछि छलफलमा लैजाने बताएका थिए । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले संविधान संशोधनमा सर्वसम्मति जुटाउन आग्रह गरेको थियो ।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन विधेयक आएको हो । नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन हुन लागेको हो ।

प्रतिक्रिया