आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप ६२ जनालाई कोरोना संक्रमण पुष्टि

प्रकाशित
724
SHARES

विराटनगर । झापा, रौतहट र सिराहामा गरी थप ६२ जनमा काेराेना संक्रमण पुष्टि भएकाे छ  । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन् ।

यसैबीच प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका र कटहरीया नगरपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको हो ।

राैतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् । त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ रौतहटका बासिन्दा हुन् ।

सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया