आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संघीय संसद्को लोगोमा नेपालको अद्यावधिक नक्सा राखियो

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । संघीय संसद्को लोगो परिवर्तन गरिएको छ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको हो । संसद्को लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । संघीय संसद्को नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो ।

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका आइतबारका बैठकले संघीय संसद्को लोगो र सांसदहरूले लगाउने लोगोमा अद्यावधिक नक्सा राख्ने निर्णय गरेका थिए ।

भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसद्ले उक्त नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिह्नलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नक्साअनुसार निसान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ ।

भारतले लिपुलेकमा एकतर्फी बाटो बनाएपछि नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो । यसैबीच नेपाल–भारत मामिलाका जानकारहरुले सीमा विवादलाई दुवै पक्षले सुझबुझ देखाएर वार्ताका माध्यमबाटै समाधान खोज्नु नै दुवै मुलुकका लागि हितकर हुने सुझाव दिएका छन् ।

काठमाडौंस्थित थिंकट्यांक नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेशन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले आइतबार साँझ गरेको वेबनारका सहभागीहरुले नेपाल र भारतका आ–आफ्ना दाबी र प्रमाणलाई राखेर वार्ताका माध्यमबाट सुझबुझ ढंगले विवाद टुंग्याउनु पर्ने धारणा राखेका हुन् ।

वेबनारमा एक सहभागी वरिष्ठ पत्रकार तथा काठमाडौंस्थित थिंकट्यांक आईआईडीएसका सिनियर फेलो अखिलेश उपाध्यायले नेपाल र भारतबीचको सम्बन्ध जति घनिष्ठ छ त्यत्तिकै जटिल भएकाले दुई देशबीचको सम्बन्धको राजनीतिक आयामका बारेमा विशेष ख्याल राख्नुपर्ने बताए । अन्यथा दुई मुलुकले गम्भीर परिणामहरु बेहोर्नुपर्ने चेतावनी पनि उनले दिए ।

साथै उनले भारतले बंग्लादेशसँग सीमा समाधान गरेको प्रसंग उल्लेख गर्दै नेपाल पनि उसको निकट र महत्वपूर्ण छिमेकी भएकाले सीमालगायत विवाद समाधानका सम्भावना सँधै रहेको धारणा राखे । ‘भारतले बंग्लादेशसँग सीमा समाधान गर्न सक्छ भने नेपालसँग किन सक्दैन ? जबकि भारतका लागि नेपाल पनि झन् बढी निकट र महत्वपूर्ण छिमेकी हो,’ उपाध्यायले भने । तर, शक्तिराष्ट्र बन्ने महात्वाकांक्षा पालेको भारतले आफ्ना छिमेकीहरुको बढ्दो आकांक्षाको पनि सम्मान गरेको खण्डमा तनावको सम्भावना नरहने धारणा पनि उपाध्यायको थियो । साथै उनले पछिल्लो सीमा विवादलाई पनि राजनीतिक तहबाटै समाधान गर्नका लागि उच्च राजनीतिक तहले सुझबुझ र विवेक देखाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया