आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एसईईबारे सरकारले छिट्टै आवश्यक प्रबन्ध मिलाउने ओलीको प्रतिबद्दता

प्रकाशित
690
SHARES

काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको एसईईबारे सरकारले छिट्टै नयाँ घोषणा गर्ने भएको छ । राष्ट्रका नाममा सम्बोधन दिने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईबारे छिट्टै आवश्यक प्रबन्ध गरिने बताएका हुन् ।

कोरोनाका कारण गत चैतमा निर्धारित तालिकाअनुसार एसईई दुई दिन अगाडि स्थगित गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले नयाँ घोषणा हुने बताएका हुन् । ‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्,’ उनले भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन । तसर्थ, एसईईका परीक्षार्थीहरूको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ ।’

संसदीय समिति र शिक्षा क्षेत्रसँग सरोकारवाला तथा विज्ञहरूले एसईई खारेज गरेर यो वर्ष आन्तरिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने बताउँदै आएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने लकडाउन खुलेको तीन हप्तापछि एसईई हुने बताउँदै आएका छन् । त्यस्तै, नयाँ शैक्षिक वर्ष पनि सुरु गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले भर्चुअल (अनलाइन) कक्षा तथा स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर नयाँ शैक्षिक वर्षको पठनपाठन सुरु गर्ने योजनामा सरकार रहेको बताए । ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाउनेछ,’ उनले भने । वैशाखदेखि सुरु हुनुपर्ने नयाँ शैक्षिक वर्ष सुरु हुन सकेको छैन । इन्टरनेटको सुविधा भएका केही विद्यालयमा अनलाइन कक्षा सुरु गरिए पनि अधिकांश विद्यालय बन्द छन् ।

उनले एकल महिला र अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने पनि बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका हुन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आएकाको कटौती नहुने र अझ त्यसको दायरा फराकिले पारिने उनको भनाइ थियो ।

सरकारले ६० वर्षमुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता नदिने भनेर यसअघि गरेको निर्णय उल्ट्याउँदै उक्त भत्तालाई निरन्तरता दिने भएको हो । ‘यस अप्ठ्यारो समयमा अपांगता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ ।’

सरकारले पछिल्लो समय परिपत्र जारी गरेर ६० वर्ष उमेर नपुगेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन रोकेको थियो । त्यस्तै अपांगता भएका व्यक्तिहरूका लागि पनि परिचयपत्रका आधारमा दिन भनेको थियो । जसबाट ३ लाख ५० हजार एकल महिला र ८६ हजार अपांगता भएका व्यक्ति भत्ताबाट वञ्चित भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया