आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वीरगन्जको नारायणी अस्पतालबाट थप ४३ जना डिस्चार्ज

प्रकाशित
649
SHARES

वीरगन्ज । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । ‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका हुन्,’ मेसु डा.उपाध्यायले भने, ‘डिस्चार्ज हुने ४३ जनामा २ जना महिला छन् ।’

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ । यसैबीच स्थानीय सरकारको बेवास्ताका कारण भारतबाट मजदुरी गरी फर्किएका करिब २ सय ५० नागरिक बाटैमा अलपत्र परेका छन् । भारतको गुजरातबाट आएका उनीहरु गुराँस गाउँपालिकाको रानीमत्तामा अलपत्र परेका हुन् ।

उनीहरु दुई दिनअघि नेपाल प्रवेश गरेका हुन् । नेपाल आएदेखि नै भोकै बस्नुपरेको नारायण नगरपालिका–४ का प्रेम विकले बताए । उनले सोमबार बिहान ६ बजे गुराँसे पुगे पनि नगरपालिकाले मतलब नगर्दा अलपत्र परेको गुनासो गरे । ‘बालबच्चा भोक लाग्यो भन्दै हैरान गर्छन्,’ उनले भने, ‘होटल पनि बन्द छन्, हाम्रो त बिजोग भयो ।’

स्थानीयले नेपालगन्ज पुगेपछि सम्बन्धित पालिका र जनप्रतिनिधिलाई उद्धार गर्न फोनमार्फत आग्रह गरेका थिए । उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाको नगरबसले गुराँसेसम्म ल्याएको थियो । सडक साँघुरो भएकाले गाडी पास हुन नसकेपछि उनीहरुलाई रानीमत्तामै छोडिएको छ । बाटोखर्च नहुँदा घर पुग्न समस्या भएको नौमुले–३ की माया राम्जालीले बताइन् । ‘हामीले त जसोतसो भोक सहेकै छौं, बच्चाबच्ची भोक लाग्यो भन्दै रोएका रोयै छन्,’ उनले भनिन्, ‘सबै होटल र पसल बन्द छन्, गाउँपालिकाले गाडी नपठाउँदा बीच बाटोमा दुःख पाइयो ।’ गाउँपालिकाले गाडी पठाउने भन्दै बिहान ६ बजेदेखि झुलाइरहेको उनको गुनासो छ ।

भारतबाट आएकामध्ये दुल्लु नगरपालिका र महावु गाउँपालिकाका बासिन्दा धेरै छन् । भारतीय क्षेत्रमा सजिलै आए पनि नेपाल प्रवेश गरेदेखि सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अलपत्र परेका नागरिकको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए ।

प्रतिक्रिया