आज : गते

ताजा शिर्षकहरु

८ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

प्रकाशित
1.3K
SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने ४ पुगेको हो ।

जेठ ४ गते नै मृत्यु भएका ती पुरूषकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।

‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले  भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ।’ मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आए पछि अहिले नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।

उनले नारायणीको ल्याब र काठमाडौंमा दुई तिर परीक्षण गर्नुपरेका कारण उनको रिपोर्ट आउन ढिलाइ भएको उनले बताए । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।

तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

साेमबार याे समाचार तयार पार्दासम्म थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया