आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अत्यन्तै दुखद खबर- साउदीमा कोरोना संक्रमित ७ नेपालीको मृत्यु

प्रकाशित
2.3K
SHARES

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेको छ । ७ जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । वैशाख ३० गतेसम्म ६ सय ७४ जना संक्रमित थिए ।

साउदीको स्वास्थ्य मन्त्रालयले रियादस्थित नेपाली दूतावासलाई संक्रमित नेपाली कामदारको विवरण उपलब्ध गराएको हो । राजदूत महेन्द्रसिंह राजपुतका अनुसार साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले यो सूचना उपलब्ध गराएको हो ।

संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् । साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ ।

कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६५ हजार ७७ जना पुगेको छ । बुधबार २५ सय ३२ जना नयाँ संक्रमित फेला परे । २५ सय ६२ जना निको भएका छन् ।

यस्तै कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गएको छ । धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए । कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ ।

सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन। सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताए ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले भने कतारमा २५ सय नेपालीमा कोरोना सङ्क्रमण भएकाे जनाएको छ । सङ्क्रमितमध्ये निको भएर काममा फर्कने धेरैले दूतावासमा सम्पर्क गर्ने गरेका छन् । उनीहरुसँग दूतावासले कतार सरकारले दिएको स्वास्थ्य उपचार लगायतबारे सोधपुछ गर्दा उपचारमा भेदभाव नगरेको पाइएको राजदूत भारद्वाजले बताए।

‘अहिले यहाँ कोरोना सङ्क्रमण पिकमा पुगेको छ, विज्ञहरुका अनुसार अब घट्दै जानेछ,’ राजदूत भारद्वाजले भने, ‘सङ्क्रमित नेपालीको सङ्ख्या पनि निकै हुनसक्छ तर उपचार राम्रो भइरहेको छ, निको हुनेको सङ्ख्या पनि बढी नै छ ।’ कतारले सुरुका दिनमा कोरोनाको कारण मृत्यु हुनेको शव व्यवस्थापन २४ घण्टाभित्र गरिसक्ने भनेको थियो । तर कोरोनाका ज्यान गुमाएका धनुषाका युवकको शव भने अहिलेसम्म कतारले सुरक्षित साथ राखिदिएको छ ।

अन्त्येष्टिका लागि परिवारसँग अनुमति लिनको लागि दूतावासले वैदेशिक रोजगार बोर्डलाई भनेको छ । परिवारले अनुमति पत्र पठाएपछि कतारमा शव व्यवस्थापन हुन्छ । कतारमा यो दुई महिनाको अवधिमा ज्यान गुमाएका मध्ये ४० जनाको शव छ । एक जना महिलाको भने श्रीमान उतै भएकाले सदगत भैसकेको छ ।

४० जनामध्ये ६ जनाका परिवारले कतारमा सदगत गर्न अनुमति दिएको राजदूत भारद्वाजले जानकारी दिए । परिवारले अनुमति दिएमा कतारमै सदगतको लागि दूतावासले समन्वय गर्ने र नभए लकडाउन नखुल्दासम्म कुर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया