आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाविहानै दुखद खबर, नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, को हुन् उनी ?

प्रकाशित
1.8K
SHARES

बुटवल । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु भएको बताएका छन् । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् । यस्तै झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले क्‍वारेन्टाइनहरुलाई व्यवस्थित गर्न र कोरोना भाइरस परीक्षण प्रणालीलाई बढाउनका लागि सम्बन्धित मन्त्रालय र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पहिलोपटक छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) पुगेर ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले क्‍वारेन्टाइनमा व्यवस्थापन र परीक्षणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै संसद्‌भित्र र बाहिर पनि लगातार रुपमा प्रश्न उठेपछि सरकारले नै गठन गरेको नयाँ संयन्त्रको कार्यालयमा बुधबार ओलीले भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई उक्त अवसरमा सीसीएमसीका संयोजकको जिम्मेवारी लिइरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईं र सेनाका दुई जर्नेलले हालसम्म केन्द्रले गरेका काम र भविष्यको योजनाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङमा स्वास्थ्य परीक्षण, क्‍वारेन्टाइन, स्वास्थ्य संस्था, चिकित्सक, मुलुकको आपूर्ति व्यवस्था, प्रदेश र स्थानीय तहमा भइरहेको गृहकार्य र विदेशमा रहेका नेपालीको अवस्थाबारे ओलीले जानकारी लिएका थिए ।

ब्रिफिङमा उपस्थित एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले क्‍वारेन्टाइनमा व्यवस्थित रुपमा बस्ने वातावरण मिलाउन, खानपिन राम्रो खुवाउन र शौचालयहरुको उचित व्यवस्था गर्न सीसीएमसीलाई निर्देशन दिए । उनले स्कुलका क्‍वारेन्टाइनमा मान्छे धेरै र शौचालयहरु थोरै हुँदा समस्या पर्ने गरेको बताए ।

प्रतिक्रिया