आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै नीति तथा कार्यक्रम आएको छ : विष्णु पौडेल

प्रकाशित
1.8K
SHARES

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी, नेकपा महासचिव तथा नेकपा सांसद विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम निर्वाचनका बेलामा जनतासमक्ष गरिएको प्रतिबद्धता अनुसार आएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महासचिव पौडेलले आगामी आर्थिक वर्षमा के के गर्ने भन्ने प्रतिबद्धतासहित आएको बताए। सपना नदेखी तस्वीर बनाउन सकिन्न भन्दै महासचिव पौडेलले सपनासम्म पनि देख्न नसक्नेले विकास निर्माण वा समृद्धिको अभियानको नेतृत्व गर्न नसक्ने दाबी गरे।

‘सरकारको नीति तथा कार्यक्रम कोभिड-१९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सपना र संकल्पका साथ आएको छ,’पौडेलले भने,’नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन,बरू यो स्पष्ट उद्धेश्य,लक्ष्य कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटकासाथ आएको छ।’

नीति तथा कार्यक्रम महत्वकांक्षी नभई उच्चआकांक्षी भएको समेत उनले बताए। स्रोत,साधन र सामर्थ्यको अधिकतमा परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको रहेको भन्दै उनले नीति तथा कार्यक्रम उच्चतम सीमारेखाको नजिक रहेको जिकिर गरे।

‘नीति तथा कार्यक्रम कोभिड-१९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने? कोरोना रोकथाम नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने?भन्ने जस्ता विषयमा तत्कालको अभिभारा निश्चित गरेको मात्र होइन पोष्ट कोभिड योजनासहित प्रस्तुत भएको छ,’पौडेलले भने,’आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्न केन्द्रित भएको छ।’

नीति तथा कार्यक्रम कोभिड-१९ लाई परास्त गर्ने र ऊर्जा सडक सिँचाइ रेलमार्ग खानेपानीजस्ता पूर्वाधारहरूलाई पनि एकसाथ अगाडि बढाउने अठोटका साथ आएको उनको दाबी छ।

‘आगामी आर्थिक वर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश-२ को मुहार बदल्ने सुनकोशी-मरिन-डाइभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता निकै महत्वपूर्ण छ,’पौडेलले भने,’अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय आवद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवनरेखा सावित हुने हैसियतका वीरगञ्ज-काठमाडौं,केरुङ-काठमाडौं तथा पूर्व-पश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट चानचुने विषय होइन।’

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपालीभूमिको रक्षा र राष्ट्रिय स्वाधिनताको सबलीकरणका लागि अविचलित छ भनेर प्रष्ट पारेको भन्दै पौडेलले विगतदेखि थाती रहँदै आएका समस्यालाई कूटनीतिक र राजनीतिक वार्ताद्वारा समस्याको समाधान गर्न चाहेको बताए।

प्रतिक्रिया