आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा लकडाउन थपिदै, यस्तो छ सरकारको तयारी

प्रकाशित
1K
SHARES

काठमाडौँ । सरकारले कम्तिमा एक साता लकडाउन लम्व्याउने तयारी गरेको छ । त्यसबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् । दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सोमबार सकिदैछ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्राद बिडारीले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारलाई समितिले सिफारिस गर्ने बताएका थिए ।

तर, पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरी संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । प्रदेश २ का आठ वटै जिल्लामा संक्रमण देखिएको छ भने पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

अघिल्लो आइतबारदेखि खुकुलो हुनथालेको लकडाउनलाई सरकारले कडा पारिसकेको छ । खुल्न थालेका सरकारी कार्यालयहरु फेरि बन्द गरिएका छन् । प्रशासनले जारी गरेका सवारी पासहरु खारेज गरिएको छ । संक्रमण बढ्दै गएको र मृत्युसमेत भएको अवस्थामा सरकारले अगाडि कसरी जाने भन्नेबारे समन्वय समितिको सिफारिसअनुसार निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ। यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरेको हो ।

दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ, नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक संख्यामा नीलो रंंगको पास जारी गर्नेछ।

विभागले स्थानीय तहले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोवार सञ्चालनमा ल्याउने, कारोवार गर्दा मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ।

बिक्रीस्थलमा काम गर्ने व्यक्तिलाई सामाजिक दूरी कायम गरी मास्क, पञ्जा, स्यानिटाइजर तथा नियमित हात धुन र सकभर विद्युतीय कारोवार गरी ग्राहकलाई सेवाको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।

एम्बुलेन्स, शव वाहन एवं औषधि तथा औषधिजन्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, निर्माण सामग्रीलगायत सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाइएको छ।

प्रतिक्रिया