आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन

प्रकाशित
1K
SHARES

जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गरेका छन् । उनले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ । सो अवसरमा उनले पर्साको समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै सरकारले गर्नुपर्ने कामका विषयमा सरोकारवालासँग सल्लाह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए।

प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गरेका थिए ।

सरकारले सबै जिल्लामा थप क्वारेन्टाइन स्थापनाका लागि गरेको निर्णयको कार्यान्वयनको सम्भावित स्थलको पहिचान गर्नुपर्ने विषयमा जोड दिँदै उनले राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा सहकार्यका लागि निर्देशन दिए ।

उक्त छलफलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रजिअ विष्णुबहादुर कार्की, नारायणी अस्पताल वीरगञ्जका प्रमुख मदन उपाध्याय, प्रहरी उपरीक्षक गङ्गा पन्त र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानको सहभागिता थियो । सो अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदका लागि रु ३१ लाख २५ हजारको चेक हस्तानन्तरण गरे ।

यस्तै झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई सोमबारदेखि नेपाल ल्याउने तयारी भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजनमा बसेको बैठकले लकडाउन कारण सीमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।

‘सोमबार करिब ३ सय नेपालीलाई काँकरभिट्टा नाकाबाट ल्याउछौँ’ जिल्ला समन्वय समितिका संयोजक तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले भने, ‘उनीहरुको व्यवस्थापनको तयारी भइरहेको छौँ ।’

उनका अनुसार सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यसपछि क्रमशः प्रवेश दिइनेछ । नेपाल आएका नागरिकलाई केहीदिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ्ग पोइन्ट’ मा राखिनेछ । हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ ।

उनीहरुलाई राख्न पछिल्लो पटक मेची बहुमुखी क्याम्पसमा २ सय बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाभर ७ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार भइसकेको छ ।

निर्णयभए अनुसार कोरोना परिक्षण भइसकेका र ‘ट्राभल्स हिष्ट्री’ का आधारमा उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइनेछ । झापा जिल्लाबाहिरका नागरिकलाई भने पिसीआर परिक्षण पश्चात् सम्बन्धित जिल्ला सदरमुकाम साथै प्रदेश राजधानी पुर्‍याउने निर्णय भएको छ ।

प्रतिक्रिया