आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको काेराेना रिपोर्ट पोजिटिभ

प्रकाशित
809
SHARES

काठमाडौँ । धुलिखेल अस्पतालको आइसिलोसनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि ति महिलालाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । ‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ श्रोत भन्यो , ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

यसैबीच नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार बिहान संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३/३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

प्रतिक्रिया