आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वास फेर्न गाह्रो भएर धुलिखेल अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु, कोरोना परिक्षण हुँदै

प्रकाशित
1.5K
SHARES

काठमाडौं । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए । यसैबीच नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार बिहान संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३/३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

प्रतिक्रिया