आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारकाे नीति तथा कार्यक्रम आज, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

प्रकाशित
751
SHARES

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३:४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।

सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले कतिपय सांसदलाई बाल्कुनीमा समेत बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । संक्रमणको जोखिम उच्च भएकाले यस पटकको नीति तथा कार्यक्रममा २९ जना अतिथिलाई मात्रै निमन्त्रणा गरिएको छ । संबैधानिक निकायका प्रमुख लगायतका उच्च सरकारी अधिकारीलाई बोलाइए पनि कुटनीतिक नियोगका प्रतिनिधिलाई यस पटक नबोलाइएको उनले बताएका छन् ।

जोखिमलाई ध्यानमा राखेर संसद् भवनमा पीसीआर परीक्षण नभएकाहरूलाई प्रवेशमा निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताइएको छ ।

नीति तथा कार्यक्रममा यसपटक नयाँ कार्यक्रम नआउने तथा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिएर बजेट तय गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले यसअघि नै जनाउ दिइसकेका छन् । सो नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आउने छ ।

कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।

प्रतिक्रिया