आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जापानको नारितामा तीन उडान गर्दै नेपाल एयरलाइन्स, भारतमा रहेका नेपालीलाई पनि फिर्ता ल्याइदै

प्रकाशित
1K
SHARES

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा तीन उडान गर्ने तय भएको छ। नेपालमा रहेका जापानी नागरिकलाई लिएर एयरलाइन्स जापान जान लागेको छ। एयरलाइन्सले दिएको जानकारी अनुसार मे १५, मे १७ मा जापानी नागरिक लिएर जान लागेको हो।

यसका साथै मे २२ मा पनि नेपाल एयरलाइन्सले वाइडबडीमार्फत् उडान गर्ने एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।जहाजले नेपालमा रहेका जापनी नागरिक लिएर जापान गएपनि जापानमा रहेका नेपालीलाई भने नेपाल ल्याउने छैन।

यस्तै कोरोनाबाट विश्व प्रताडित भइरहेका बेला प्राय मुलुकले आफ्ना नागरिक फिर्ता ल्याउदै छन् । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गरेकी हुन् ।

लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो । “हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,” उनले भनिन् ।

आउन चाहने सवैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको पनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिइन् । उनले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विषेश रेलहरु पठाइने बताइन् ।

यस्तै नेपालले पनि आफ्ना नागरिक फिर्ता ल्याउने प्रक्रिया थालेको छ । लकडाउनका कारण नेपाल भारत सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने र भारततर्फ रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको अधिकारीहरूले बताएका छन्।

बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटबीचको समन्वयमा नेपालगञ्जको सीमा क्षेत्रमा रहेका भारतीयलाई फिर्ता पठाउन लागिएको हो। रोजगारीका लागि भारतका विभिन्न सहरमा नेपालीहरू गएजस्तै नेपालका विभिन्न सहरमा पनि हजारौंको सङ्ख्यामा भारतीयहरू रहेका छन्।

बाँकेका क्वारन्टीनमा रहेका १७० र विभिन्न कल कारखाना, होटेलका मजदुर र आफन्तको घरमा बसेका भारतीय नागरिकलाई फिर्ता पठाउन लागिएको बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले बताए। नेपाल तर्फबाट सीमापारी जाने सबै भारतीयलाई त्याहाँका सुरक्षा अधिकारीले प्रवेशको अनुमति दिए सम्पर्कमा आएका सबैलाई पठाउने तयारी गरिएको पनि ओलीले बताए।

सीमा नाका जमुनाहामा प्रत्येक भारतीय नागरिकको नाम दर्ता गरेर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिए। सीमा नाकामा अहिले नेपालतर्फ भारतीय र भारततर्फ नेपाली नागरिकको भीड लागेको छ।

नेपाल भित्रिने व्यक्तिहरूको स्वास्थ्य परीक्षणका लागि जमुनाहामा नेपाली सेनाले क्याम्प स्थापना गरेको जिल्ला स्वाथ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाभाइरस उपचारका लागि तोकिएका अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया