आज : गते

ताजा शिर्षकहरु

पिसिआर परिक्षण बढाउन सर्वोच्चको आदेश, संक्रमितको संख्या २ सय ४५ पुग्यो

प्रकाशित
857
SHARES

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण परिक्षण गर्ने पिसिआर प्रबिधिको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार सरकारका नाममा यस्तो आदेश दिएको हो ।

पिसिआर प्रबिधिको दायरा कम भएका कारण कोरोना परिक्षण भनेजसरी हुन नसकेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता कमलबहादुर खत्रीसहितले पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै रिट निवेदन दिएका थिए ।

यस्तै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तह सक्रिय हुन थालेका छन्। स्थानीय सरकारले सेना परिचालनदेखि आवतजावत गर्ने बाटो बन्दसम्म गरेर कोरोना जोगिमलाई न्यूनीकरण गर्ने प्रयास गरेका हुन्। स्थानीय तहहरुले थप संक्रमण फैलन नदिनका लागि टोललाई शिलबन्दी गर्नेसम्मका कार्य पनि गरेका छन्। कोरोना संक्रमित भेटिएका टोलहरुलाई उनीहरुले शिल गरेका छन् भने मानिसहरुलाई होम क्वारेनटाइनमा राख्न थालेका छन्।

भक्तपुरमा २ जना कोरोना संक्रमित फेला परेपछि मध्यपुर थिमी नगरपालिका जोड्ने सबै सडकहरु बन्द गर्ने निर्णय गरिएको छ। अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गरिएको छ।

भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परिक्षण नगराई आफ्नो घरमा नराख्नका लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ। यस्तै भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसलजस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुनलगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने भनिएको छ।

ललितपुर महानगरपालिका- ६ का अध्यक्ष हिटलर शाक्यले एक विज्ञप्ति जारी गर्दै कोठा भाडामा लिएर बसेका तर लकडाउनपछि घर गएका वा विदेशबाट आएका व्यक्तिलाई प्रवेशलाई निषेध गर्ने निर्णय गरेका छन्। यो वडामा कोठा भाडामा लिई बसोबास गरेका व्यक्तिलाई सम्बन्धित घरधनीले फोन गरेर तत्काल प्रवेश निषेध गरेको जानकारी गराउनुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ।

यदि घर धनीले सूचना लुकाई बाहिरको मान्छेलाई प्रवेश दिएमा कारवाही गर्ने वडाले चेतावनी दिएको छ। यस्तै अन्य जिल्लाबाट प्रवेश गोरखा जिल्ला प्रवेश गर्न खोज्ने मानिसलाई निषेध गरिएको छ। बाहिरबाट आउने सर्वसाधरणलाई रोक्न गोरखाको मझुवामा नेपाली सेना खटाइएको छ। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा जेठ १ गतेदेखि ५ गतेसम्म सेना समेत परिचालन भएको हो।

सशस्त्र प्रहरीको सहयोगमा गरीबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्म बाँसको घेरा हालेर बार लगाइएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिएका छन्। नगरले एक साता लगाएर करीब २ लाख रुपैयाँ खर्चमा २ हजार ५ सयवटा बाँस गाडेर बार लगाएको हो।

मटिहानीको भारतसँग जोडिएको सीमामा दुवैतिर घना बस्ती छ। विहारको मधुवनी जिल्लाको मधवापुर बजार नजिकै भएकाले पनि सीमावारीका नेपालीका लागि पायककै बजार हो। कोरोना भाइरसको संक्रमणबाट आफ्नो पालिकालाई सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाएको मेयर मण्डलले बताए।

मण्डलका अनुसार बिहीबार पनि जलेश्वरको पर्सा गाउँनजिकको सीमामा बार लगाउने काम भइरहेको छ। सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी निरकृष्ण अधिकारीका अनुसार सीमामा तीन तहको बाँसको घेरा हालिएपछि आउजाउ नियन्त्रण भएको बताए।

महोत्तरीसँग भारतको ३८.६ किलोमिटर सीमामा पर्छ। सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ। ‘सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको एसपी अधिकारीले बताए।

त्यस्तै कपिलवस्तुको बाडगंगा नगरपालिकाले दुई टोलमा सिल गरेको छ। काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराउन ल्याएकी एक ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको परिवारलाई काठमाडौं पुर्‍याउने दूधको ट्याङकर र दूध भर्ने वडालाई नगरपालिकाले सिल गरेको हो।

दाङको शान्तिनगर गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै बर्दियामा कोराना संक्रमित बिरामीलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। दाङमा एक जना कोरोना संक्रमित नभएको भन्दै अन्य जिल्लाबाट कोरोना संक्रमितलाई उपचार गर्ने नाममा बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल ल्याउन नहुने चेतावनी दिइएको छ। यदि यसरि ल्याएको कोराना संक्रमित बिरामीबाट महामारी फैलिएमा सम्बन्धित निकाय जिम्मेवार हुने विज्ञाप्तिमा उल्लेख छ।

महोत्तरीको मटिहानी नगरपालिकाले भारतसँग जोडिएको आफ्नो डेढ किमी सीमाक्षेत्र बाँसले बारिएको छ। भारतबाट कोरोना संक्रमित भित्रन नदिन र सीमा अतिक्रमण रोक्न बाँसको तीन तहको घेरा हालिएको हो। त्यसैगरी महोत्तरीको मटिहानी नगरपालिकामा भारतसँगको सीमामा बार लगाइएको छ।

काठमाडौं र कपिलवस्तुमा बिहीबार बिहानै दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंको चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कपिलवस्तु जिल्ला निवास ६ वर्षीया बालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार बिहान कोरोना संक्रमण भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

प्रतिक्रिया