आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनौली नाकाबाट नेपाल भित्रिए पाँच सय, नेपालमा थप बढ्न सक्छ कोरोना

प्रकाशित
2.6K
SHARES

काठमाडाैं। भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ । यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् ।

स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ । बेलहिया नाकामा दैनिक सयौँ नेपाली आउने गरेका छन् । अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ ।

स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो । तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमानाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने ।

रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार लेखेकाे छ ।

प्रतिक्रिया