आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाहिर निस्किनेहरूका लागि आजदेखि सुरु भयो नयाँ नियम, सबैले अनिवार्य थाहा पाउनुहोस्

प्रकाशित
6.9K
SHARES

काठमाडौं। नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः कडाई गरेको छ । मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवातजावत गर्नेहरुको पास रद्द गर्दै कडिकडाउ गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ ।

सञ्चालन हुन पाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ । गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ ।

आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन । पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिनथालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।

यस्तो छ गृहको नयाँ नियम
१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द
२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने ।

३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४/४, रौतहट, बारा र सर्लाहीमा ३/३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

यसैबीच भक्तपुरमा मंगलबार फेला परेकी कोरोना संक्रमितको माइतीघर सिल गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सुनसरीबाट सोमबार मोटरसाइकलमा बीपी राजमार्ग हुँदै आएकी उनले कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा झन्डै ४५ मिनेट बिताएकी थिइन् । उनले त्यहाँ खानासमेत खाएकी थिइन् ।

ट्राभल हिस्ट्रीले यस्तो देखाएपछि उनको माइतीसहितका पाँच घर सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार महिलाको सम्पर्कमा आएका तीन घरका आफन्त १६ जनाको एउटै कम्पाउन्ड भएकाले ‘होम क्वारेन्टाइन’मा र उनीहरूको सम्पर्कमा आएका अन्य दुई घरका तीन जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको छ ।

‘उनीहरूलाई उच्च निगरानीमा राखी अन्य व्यक्तिसँग सम्पर्क भए/नभएको खोजबिन भइरहेको छ,’ उनले भने । संक्रमित महिलाले दिएको ट्राभल हिस्ट्रीअनुसार सिन्धुली सदरमुकामबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले भिमानमा रहेका आफन्त र उनीहरूको सम्पर्कका व्यक्ति खोजबिन र व्यवस्थापन गरिरहेको छ । भिमान सिन्धुली सदरमुकामबाट १८ किलोमिटर दक्षिणमा पर्छ ।

रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना भाइरसको संक्रमण
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो । रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण भएको थियो । थपिएका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना सङ्क्रमण भएको थियो । भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

प्रतिक्रिया