आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाविहानै काठमाडौैं र भक्तपुरबाट आयो यस्तो सबैलाई चकित पार्ने खबर, सेना परिचालन गर्ने सरकारको निर्णय

प्रकाशित
1.8K
SHARES

काठमाडाैं । काठमाडौं उपत्यकाका साथै प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा गरी मंगलबार एकै दिन थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ५७ जनामा संक्रमण देखिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, विश्वविद्यालयलाई अहिले क्वारेन्टाइनस्थल बनाइएको छ ।

रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । विभिन्न जिल्लाहरूमा संक्रमण बढेसँगै लकडाउन उल्लंघन गर्दै राजधानी भित्रिनेहरूको संख्या पनि बढेको छ ।

गत वैशाख २६ र २७ गते संकलित नमुना परीक्षण हुँदा पर्सामा थप ५७ जनामा कोभिड पोजिटिभ देखिएको हो । वीरगन्जमा यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित २५ जनामा कोरोना पुष्टि भइसकेको छ । गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३, छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीबार, शुक्रबार र शनिबार गरी ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका १४ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूसहित ४२ जना गत वैशाख १३ मा बागलुङबाट बस रिजर्भ गरी आएका आएका थिए । गाउँपालिका अध्यक्ष मनोज साहका अनुसार उनीहरू बागलुङको हटियामा काम गर्न गएका थिए । बागलुङबाट आएको थाहा पाएपछि उनीहरूलाई बसबाट सिधै मंगल माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष साहले बताए । १४ जना संक्रमितमध्ये धोबनी गाउँपालिकाका २ जना, छिपहरमाईका ११ र १ जना भारतीय नागरिक छन् ।

शनिबार परीक्षणका लागि दिएको स्वाबको नतिजा मंगलबार सार्वजनिक हुँदा धेरैमा संक्रमण फैलिएको आशंका गरिएको छ । नारायणी अस्पतालका चिकित्सकका अनुसार वीरगन्जमा समुदायस्तरमै कोरोना फैलिसकेको छ । संक्रमितहरू वीरगन्जको वडा २, ३, ४, १६, १७ र १८ वडाका छन् ।

बाराको विश्रापुर गाउँपालिका–४, बलिरामपुरका १४ वर्षीय किशोरमा पनि वीरगन्जबाटै संक्रमण भएको खुलेको छ । वीरगन्ज–१६ इनर्वामा उनले खाना पकाउने ग्यास पसल सञ्चालन गर्दै आएका थिए । बलिरामपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जगदीश यादवका अनुसार बलिरामपुरबाट दुई किमिको दूरीमा रहेको पसलमा उनी (संक्रमित किशोर) दिनहुँ घरबाट आउजाउ गरिरहेका थिए ।

वीरगन्ज–१६ का एक ५५ वर्षीयमा कोरोना पुष्टि भएपछि किशोर र उनका बुबाको कन्ट्याक्ट ट्रेसिङका आधारमा ती किशोरको पनि परीक्षण गरिएको थियो । परीक्षणमा किशोरका बुबाको नेगेटिभ र किशोरको पोजिटिभ रिपोर्ट देखिएको यादवले जानकारी दिए । प्रहरीले संक्रमित किशोरको बसोबास रहेको टोललाई सिल गरेको छ । जिल्लामा योसँगै संक्रमितको संख्या ३ पुगेको छ ।

पर्सा र बारामा निषेधाज्ञा, सुरक्षाको जिम्मा सेनालाई
कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला सुरक्षा समितिहरूले पर्सा र बारामा निषेधाज्ञा जारी गरेका छन् । पर्सामा मंगलबार साँझ ८ बजेदेखि र बारामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । आवश्यकता हेरेर निषेधाज्ञाको म्याद थप्न पनि सकिने बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए । सरसफाइ, खाद्यान्न तथा बैंकको काउन्टर आदिको व्यवस्थापन गर्दै निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको छ ।

भारतसँगको खुला सीमा र लकडाउन उल्लंघनका कारण कोरोना नियन्त्रण जटिल बन्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वरप्रसाद चौरसियाले पछिल्लो संक्रमितको संख्याले जिल्लाको अवस्था अत्यन्त जोखिमपूर्ण हुन पुगेको बताए । स्वाब संकलन र परीक्षण जारी भएकाले नतिजा पनि क्रमश: आउने उनको भनाइ छ ।

बारामा पनि कोरोना संक्रमितको संख्या बढेसँगै केही दिनदेखि खुकुलो पारिएको लकडाउनलाई पुन: कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहानदेखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार बारा–पर्सा आउजाउ निषेध गरिएको छ । साथै जारी गरिएका हस्तलिखित र अनलाइन पास (गम्भीर बिरामीको पासबाहेक) बुधबारदेखि लागू हुने गरी रद्द गरिएको उनले बताए । अति आवश्यक ढुवानी र पसल सञ्चालनबाहेक विकास निर्माण र उद्योगमा वीरगन्जका मजदुरलाई काममा नलगाउनसमेत प्रजिअले निर्देशन दिएका छन् ।

प्रदेश २ सँगका नाका सिल गर्न आग्रह
वाग्मती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएका सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ । हेटौंडामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरियासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।

तराईका जिल्लाहरू बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै वाग्मती प्रदेशमा यात्रुहरूलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न आग्रह गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘प्रदेश सरकारसँग नाका सिल गर्ने अधिकार छैन । त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ उनले भने । उनका अनुसार विभिन्न सवारीमार्फत तराईका जिल्लाबाट वाग्मती प्रदेश भित्रिनेको संख्या बढिरहेको छ । जोखिम नरहोस् भन्न प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको उनले स्पष्ट पारे ।

तराईका जिल्लाबाट गाडी र पैदल यात्रुलाई मकवानपुर प्रवेशमा रोक लगाइएको छ । सोमबार दिउँसो बसेको कमान्ड पोस्टको बैठकले प्रदेश २ र मकवानपुरको सीमा चुरिया नाका भएर भित्रिन रोक लगाएको हो । छिमेकी जिल्लामा कोभिड–१९ का संक्रमित बढेपछि यस्तो निर्णय गर्नुपरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताए ।

उनका अनुसार खाद्यान्न तथा अत्यावश्यक सामग्री बोकेका गाडी मकवानपुरको राजमार्ग भएर जान पाउने तर रोकेर यात्रु ओराल्न नपाउने निर्णय भएको छ । चुरिया भएर मकवानपुर प्रवेश भएको वा नभएको अनुगमन गर्न जनप्रतिनिधिसहितको अनुगमन समिति गठन गरिएको छ । चुरियामा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ । बैठकले लकडाउनलाई थप कडा बनाउने निर्णयसमेत गरेको छ ।

कपिलवस्तुमा मंगलबार एक स्वास्थ्यकर्मीसहित ८ जना थपिएपछि संक्रमितको संख्या २९ पुगेको छ । तीमध्ये धेरैजसो सीमावर्ती गाउँका छन् । उनीहरू भारतको मुम्बई, दिल्ली, अहमदाबाद र नासिकलगायत ठाउँबाट आएका हुन् । अधिकांश एक साताअघि सीमा सिल भएपछि रातिको समयमा लुकेर आएका थिए । भारतसँगको सीमा आसपासका मात्रै १८ जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट मंगलबार जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार संक्रमण पुष्टि भएका सबै जना कपिलवस्तु नगरपालिकाका हुन् । संक्रमितहरूको उमेर १९ देखि ३६ वर्षसम्म छ । स्वास्थ्यकर्मीबाहेक ७ जना भारतबाट आएको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरू एक साताअघि लुकीचोरी भित्रिएका थिए । उनीहरू घर गए/नगएको बारेमा ट्राभल हिस्ट्री लिने काम भइरहेको कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । कपिलवस्तु नगरपालिकामा पहिलोपटक संक्रमण देखिएको हो । यहाँको क्वारेन्टाइनमा रहेका १ सय २ जनाको स्वाब लिइएकामा ८ जनामा संक्रमण देखिएको हो ।

मंगलबारसम्म संक्रमित देखिएका सीमावर्ती सिंहखोर, पकरभिटवा, अभिराव, बिजुवा र कर्मा गाउँका सर्वसाधारण तनावमा छन् । ती गाउँमा पुगेर स्वास्थ्यकर्मीले संक्रमितको कन्ट्याक्ट ट्ेरसिङ गरेका छैनन् । संक्रमणको जोखिमबारे स्थानीयलाई सचेत पनि गराएका छैनन् ।

जिल्लामा रहेको क्विक कोरोना रेस्पोन्स टिमको मंगलबार सदरमुकाममा बसेको बैठकले बुधबारबाट संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । सम्बन्धित गाउँ/नगरपालिकाका प्रमुख/अध्यक्षको संयोजकत्वमा कन्ट्याक्ट ट्रेसिङ समिति गठन गर्ने निर्णय भएको उनले बताए । उक्त समितिका सदस्यलाई बुधबार अभिमुखीकरण गर्ने निर्णय भएको छ ।

तालिम दिएपछि फिल्डमा परिचालन गरिने भगतले बताए । उनका अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलनका लागि आवश्यक मेडिकल सामग्री आपूर्ति गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई आग्रह गरिएको छ । त्यस्तै भगतको संयोजकत्वमा केस इन्भिस्टिकेसन तथा कन्ट्याक्ट ट्रेसिङ समिति बनाइएको छ । समितिमा स्वास्थ्य सेवा विभाग, प्रदेश, जिल्ला अस्पताल र डब्लूएचओका चिकित्सक र जनस्वास्थ्य विज्ञ रहेका छन् । उनीहरूले समग्र जिल्लामै कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्टी संकलन गर्ने छन् ।

रूपन्देहीका सीमामा सतर्कता
सीमाबाट लुकेर आउने अधिकांशमा कोभिड–१९ संक्रमण भेटिएपछि सीमा क्षेत्रमा उच्च सतर्कता सुरु गरिएको छ । सोमबार भारतसँग सीमा जोडिएका लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकामा थप क्वारेन्टाइन निर्माण र कन्ट्याक्ट ट्रेसिङको काम तीव्र भएको छ । लुम्बिनीमा सोमबार दुई र मंगलबार ९ गरी ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै सम्मरीमाईमा चार जनामा संक्रमण देखिएको हो । यसअघि कोटहीमाईमा १ जनामा संक्रमण देखिएको थियो । रूपन्देहीका १६ संक्रमित सबै भारतका विभिन्न स्थानबाट आएका हुन् ।

मंगलबार जिल्लाका सुरक्षा अधिकारीसहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि तथ्यांक संकलन, यात्रा विवरण र नजिकको सम्पर्क/सम्बन्धको खोजीमा व्यस्त भए । प्रहरी प्रमुख हेमकुमार थापाका अनुसार सम्मरीमाई गाउँपालिका–१ र ४ का २ जना घरमा पुगेको देखिएको छ । तीमध्ये वडा १ का पुरुष राति ११ बजे सीमाबाट लुकेर घर पुगेका थिए । उनले एक रात त्यहीं बिताए । भोलिपल्ट बिहान स्थानीयकै सहयोगमा क्वारेन्टाइन पुगेका थिए । अर्का वडा ४ का व्यक्ति भने घरमा बिहानको खाना खाएर झोला राखी क्वारेन्टाइन गएका थिए ।

‘घरमा खाना खाएको भन्ने देखिएकाले कन्ट्याक्ट ट्ेरसिङ सुरु गरेका छौं,’ प्रहरी प्रमुख थापाले भने, ‘पहिलो चरणमा परिवारका १० जनालाई नै क्वारेन्टाइनमा ल्याएका छौं ।’ अर्को व्यक्ति मोटरसाइकलमा बसेर घर पुगेको भन्ने देखिएपछि मोटरसाइकल चालकसहित ६ जनाको परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको उनले बताए । स्थानीयभन्दा पनि भारतबाटै आएका अधिकांशमा संक्रमण देखिएपछि सीमा क्षेत्रका स्थानीय तहलाई कम्तीमा १ हजार जना अट्न सक्ने क्वारेन्टाइन तत्काल स्थापना गर्न प्रशासनले निर्देशन गरेको छ ।

मंगलबार स्थानीय तहका जनप्रतिनिधिसहित बसेको बैठकले सीमा क्षेत्रका हरेक स्थानीय तहले वडा तहसम्मै क्वारेन्टाइन निर्माण र व्यवस्थापन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ध्रुव नेपालले बताए । संक्रमितको नजिकको सम्पर्कमा रहेका १६ जनाको थ्रोट स्वाब बुधबार संकलन हुनेछ । निर्णय अनुसार सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाले थप क्वारेन्टाइन निर्माण गर्नेछन् । ‘वडामा रहेका सबै विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी भएको छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने, ‘अब सीमाबाट आउने एक हजार जनासम्मलाई हामी आफैंले व्यवस्थापन गर्छौं ।’ भागेर, लुकेर जसरी आए पनि तिनीहरूलाई उनीहरूकै वडामा पुर्‍याएर क्वारेन्टाइनमा राख्ने उनले बताए ।

सीमा क्षेत्रमा रहेका क्वारेन्टाइन दैनिक सीमापारिबाट आउनेले भरिँदै गएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले बढीमा एक सय जनासम्मको आँकलन गरी लुम्बिनी बौद्ध विश्वविद्यालयलाई क्वारेन्टाइनका रूपमा उपयोग गर्दै आएको थियो । त्यहाँ आइतबारसम्म ८९ जना थिए । सोमबार ४२ जना थपिएकामा मंगलबार २ सय ५१ भन्दा बढी पुगेका छन् । लुकेर आउने बढ्दै गएपछि लुम्बिनी क्षेत्रकै श्रीलंकन गेस्ट हाउसलाई पनि क्वारेन्टाइन बनाएर १९ जनालाई राखिएको छ । दुवैबाट गरेर ६२ जनाको थ्रोट स्वाब संकलन गरिएकामा ११ जनाको कोरोना संक्रमण पुष्टि भएको क्वारेन्टाइन संयोजक धु्रव घिमिरेले बताए । त्यो संख्या दैनिक बढ्दै गएको छ ।

‘मंगलबार मात्र १ सय ४८ जना थपिएका छन्,’ उनले भने, ‘स्थान अभाव हुने भएपछि सबै वडाका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय भएको छ ।’ त्यस्तै सम्मरीमाई गाउँपालिकाको क्वारेन्टाइनमा १ सय ५२ जना छन् । त्यहाँ पनि थपिने क्रम जारी छ । मंगलबार पनि ४ जना थपिएको संयोजक मुन्सीप्रताप माझीले बताए । मंगलबारसम्ममा रूपन्देहीका २१ क्वारेन्टाइनमा १ हजार १ सय ३० जना रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया